१ कार्तिक २०८३, आइतबार

हुलाक टिकट मार्फत लोपोन्मुख, रैथाने र परम्परागत कला संस्कृतिको जर्गेना गर्नुपर्छ: मन्त्री गुरुङ



काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले हुलाक टिकट मार्फत समाजका लोपोन्मुख, रैथाने र परम्परागत कला संस्कृतिको जर्गेना गर्नुपर्ने बताए ।

हुलाक सेवा विभागले आज सप्ताह व्यापीरुपमा आयोजना गरेको राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा हुलाक टिकट प्रर्दशनी कार्यक्रम संबोधन गर्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् ।

उनले हुलाक विभागले अब आवेदन आव्हान गरेर मात्रै होइन, आवश्यक परेको खण्डमा एतिहासीक विषय बस्तु खोजेर टिकट प्रकाशन गर्नु पर्ने सुझाव दिए ।

नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले हुलाक टिकट एउटा कागजको टुक्रा मात्र नभई यसले देशको पहिचान र इतिहासलाई सधै जर्गेना गर्ने दस्तावेज समेत रहेको बताए ।

साथै उनले टिकटमा राजनीतिक गतिविधि र सत्तामा रहेका नेताहरुको बढी टिकट भएपनि मुलुकमा लोपोन्मुख रहेका कला संस्कृति, वनजन्तु, रैथाने जीवनशैलीहरु खोजेर दस्तावजे गर्न छुटेको बताए । उनले विभागलाई निर्देशन दिदै भने,‘हामी धेरै राजनीतिक खाले टिकट बनाउन जोड दियोँ, जुन समाजका अन्य महत्वपुर्ण विषय छुटेका छन् ।’

मन्त्री गुरुङले समाजका रैथाने मुल्यमान्यता, जीवनशैली, पर्यटनलाई प्रवद्र्धन गर्ने खालका विषयवस्तु समेत हुलाक सेवाले आफैले पहिचान गरि छाप्नु पर्नेमा जोड दिए ।

उनले हुलाक टिकटलाई समय सापेक्ष आधुनिकिरण गर्न मन्त्रालय सधै तत्पर रहेको जानकारी गराउँदै जनसेवामुखि भएर हुलाक सेवामा काम गर्न कर्मचारीलाई आग्रह गरे । उनले हुलाक टिकटलाई आवश्यक पर्ने बजेट व्यवस्थापन गर्न मन्त्रालय कटिबद्ध रहेको बताए ।

कार्यक्रममा मन्त्री गुरुङले नयाँ हुलाक टिकट ‘पञ्चमार्क मुद्रा’ र ‘भित्रीकोट दरबार’ टिकटको आवरणमा टाँचा प्रदान गरेका छन् ।

भगवान गौतम बुद्धको राजप्रसाद रहेको प्राचिन कपिलवस्तु तिलौराकोटको खोज अनुसन्धान गरि जमिनबाट उत्खनन गरिएको ऐतिहासीक ‘पञ्चमार्क मुद्रा’ हो भने प्युठान जिल्लास्थित ‘भित्रीकोट दरबार’ नेपाल बाइसे र चौविसे राज्यमा विभाजीत रहेको समयमा चौविसे राज्य अन्र्तगतको शक्तिशाली राज्यको रुपमा रहेको मानिन्छ ।

हुलाक सेवा विभागका महानिर्देशक मनमाया पंगेनी भट्टराईले हुलाक टिकटको एतिहासीक महत्व दर्शाउदै विभागले पुरातात्वीक महत्व राख्ने विषय बस्तु खोजेर टिकट बनाउनेतर्फ कार्य योजना बन्दै गरेको बताए । ‘यस्तो थुप्रै रोचक र एतिहासीक खोजमुलक विषय वस्तु छन्, जुन टिकट बनाउन आवश्यक छ”, उनले भने,“विभागले आफै पनि अनुसन्धान गर्ने तयारीमा छौँ र केहि कार्य थालनी पनि गरेका छौँ ।