२२ कार्तिक २०८३, आइतबार

बुद्ध एयरको सफ्टवेयर ह्याक गरी टिकट बिक्री गर्ने दुई जना पक्राउ



काठमाडौं । बुद्ध एयरको सफ्टवेयर ह्याक गरी टिकट बिक्री गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ रंगेली नगरपालिका–७ घर भई काठमाडौं तारकेश्वर नगरपालिका–९ बस्ने ४५ वर्षीय बिकाश भारती र गोरखा अजिरकोट गाउँपालिका–३ घर भई काठमाडौं तारकेश्वर नगरपालिका–४ बस्ने ३७ वर्षीय बाबुराम अधिकारी रहेका छन् ।

उनीहरूलाई काठमाडौं महानगरपालिका-९ बत्तीसपुतलीबाट आइतबार पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। उनीहरूले गौशाला-बत्तीसपुतली क्षेत्रबाट बुद्ध एयरको सफ्टवेयर ह्याक गरेका थिए।

बुद्ध एयरको हवाई टिकट खरिद बिक्रीको लागि अनलाईन कम्प्युटर प्रणालीमा अनाधिकृत रूपमा पहुँच पुर्‍याई अवैध लाभ लिने कार्यमा संलग्न उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–९ गौशाला बत्तिसपुतलीबाट पक्राउ गरेको हो । 

उनीहरूलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।