हिंसात्मक गतिविधि बढेपछि सेना परिचालन
काठमाडौँ । राजावादी समूहको आन्दोलन हिंसात्मक भएसँगै जारी गरिएको कर्फ्युपछि कोटेश्वर क्षेत्रमा सेना खटाइएको छ । कर्फ्यु आदेश कार्यान्वयनका लागि बानेश्वर, कोटेश्वर क्षेत्रमा सेना परिचालन गरिएको हो । सेनाका सवारी साधनहरुले सडकमा गस्ती सुरु गरिसकेका छन् ।
नेपाल प्रहरीले भने हिंसात्मक गतिबिधीमा संलग्नहरुलाई गोली हाल्न आदेश माग गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले शुक्रबार अपराह्न ४:२५ बजेदेखि राति १० बजेसम्म विभिन्न स्थानमा कर्फ्यु लागू गरेको हो । कर्फ्यु गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडिबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वरदेखि शंखमुल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म लगाइएको प्रशासनले जनाएको छ ।















