२२ कार्तिक २०८३, आइतबार

राजावादी आन्दोलनमा निजी सम्पत्ति तथा सञ्चार गृहमा तोडफोड तथा लुटपाट निन्दनीय कार्य: परिसंघ



काठमाडौँ । नेपाल उद्योग परिसंघले निजी सम्पत्ति तथा सञ्चार गृहमा तोडफोड, लुटपाटको घटना दुखद भएको बताएको छ । आन्दोलनमा अराजक गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याउन नेपाल उद्योग परिसंघले सरकारसँग माग गरेको छ । 

शुक्रवार निजी सम्पत्ति तथा सञ्चार गृहमा भएको तोडफोड, आगजनी, तथा व्यावसायिक प्रतिष्ठानमा भएको लुटपाटको घटना अत्यन्त दुखद हो । विभिन्न माग राखी आन्दोलन, प्रदर्शन गर्दा आम सर्वसाधारण, विभिन्न पेसा, व्यवसायमाथि भौतिक आक्रमण, व्यक्तिगत सम्पत्तिमाथि आगजनी, व्यावसायिक प्रतिष्ठानमा तोडफोड एवं लुटपाट जस्ता कार्य जहिले पनि निन्दनीय छ । 

निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड तथा आगजनी, लुटपाट जस्ता अराजक गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याई सुरक्षित रूपमा व्यापार, व्यवसाय, पेसा गर्न पाउने अधिकारलाई सुरक्षित बनाउन परिसंघ माग गर्दछ । साथै यस प्रकारका घटना दोहोरिन नदिन परिसंघ सम्बन्धित सबैमा अपिल समेत गर्दछ ।

विभिन्न माग राखी आन्दोलन, प्रदर्शन गर्न पाउने अधिकार सुरक्षित भएता पनि यस्ता कार्यले अरू कसैको अधिकार हनन गर्न हुँदैन भन्नेतर्फ समेत सचेत हुन सम्बन्धित सबैलाई परिसंघ आग्रह गर्दछ ।

परिसंघ शुक्रवारको घटनामा परी निधन हुनुभएका व्यक्तिहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ । साथै, घाइते हुनुभएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।