२२ कार्तिक २०८३, आइतबार

विन नेपाल लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम मौका



काठमाडौं । विन नेपाल लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले चैत २१ गतेदेखि एफपीओमा आज कार्यालय समयसम्म आवेदन दिन सकिनेछ ।

संस्थाले ५१ लाख २९ हजार २५० रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५१ हजार २९२.५ कित्ता सेयर निष्काशन गरेको हो। लघुवित्तको एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

एफपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग कम्पनी केयर रेटिङ्ग नेपालले लघुवित्तलाई केयर एनपी सिंगल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

लघुवित्तले बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ को दफा ९ बमोजिम स्वः पूँजी संरचनामा सर्वसाधारणको हिस्सा ३० प्रतिशत कायम गर्न सर्वसाधारणमा एफपीओ निष्काशन गरेको हो।

हाल लघुवित्तको चुक्ता पूँजी ७ करोड ९२ लाख ११ हजार ३०० रुपैयाँ रहेको छ। एफपीओ निष्काशनपश्चात लघुवित्तको चुक्ता पूँजी ८ करोड ४३ लाख ४० हजार ५५० रुपैयाँ पुग्नेछ।