२० कार्तिक २०८३, शुक्रबार

करोडौंको ऋण दुरुपयोग, विवादास्पद व्यवसायी दुर्गा प्रसाईमाथि बैंकिङ मुद्दा



काठमाडौं । बैंक ऋण दुरुपयोग प्रकरणमा मुछिएका विवादास्पद व्यवसायी दुर्गा प्रसाईमाथि सम्पत्ति शुद्धीकरण मुद्दा नचल्ने भएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले अनुसन्धानबाट शुद्धीकरणसम्बन्धी प्रमाण फेला नपरेपछि मुद्दा नलगाउने निर्णय गरेको हो ।

तर, प्रसाई र उनका परिवारका नाममा सञ्चालित फर्म तथा कम्पनीले बैंक ऋण लिँदा उल्लेखित प्रयोजनबाहेक अन्यत्र रकम खर्च गरेको भेटिएको छ । सीआइबीका अनुसार उनले एक कर्जा चुक्ता गर्न अर्को कर्जाको रकम प्रयोग गरेका छन् ।

बैंकिङ कसुर ऐन अनुसार, कर्जाको दुरुपयोग तथा शंकास्पद कारोबारमा उनी दोषी देखिएपछि सीआइबीले सरकारी वकिलमार्फत बैंकिङ कसुरमा मुद्दा दायर गर्ने राय दिएको छ ।

प्रसाईका संस्थाहरुले लिएको कर्जा समयमै भुक्तानी नगरेको र ब्याज पनि थुप्रिएको पाइएको छ । उनको नेतृत्वमा चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको उग्र प्रदर्शनपछि पक्राउ परेका प्रसाईमाथि हाल ५ वटा फरक मुद्दामा अनुसन्धान जारी छ ।