१२ श्रावण २०८३, मंगलबार

इभी बजारमा रेकर्ड : नेपाल भित्रियो १३ हजार ४९२ युनिट गाडी, कुन सेग्मेन्टका कति आए ?



काठमाडौँ । पछिल्ला केही वर्षयता विश्वव्यापी रूपमा विद्युतीय सवारीसाधन (इभी) को मागमा तीव्र वृद्धि भइरहेको छ । यस्तो अवस्थामा नेपाल पनि त्यसबाट अछुतो रहेको छैन । 

शून्य कार्बन उत्सर्जन, पेट्रोलियम इन्धनको विकल्प खोज्ने प्रवृत्ति र कम सञ्चालन लागत जस्ता कारणले नेपाली उपभोक्तामाझ इभीप्रतिको आकर्षण उल्लेखनीय रूपमा बढिरहेको छ । इभि नेपालमा अब ‘नीतिगत प्राथमिकता’ मात्र नभई ‘बजारको आवश्यक’ बन्दै गएको छ । 

विभिन्न भन्सार नाका मार्फत नेपाल भित्रने विद्युतीय सवारी (इलेक्ट्रिक कार, जिप र भ्यान) को संख्या बढ्दो नै छ । पछिल्लो ११ महिनामै साढे ३१ अर्ब बराबरको १३ हजार बढी इभि नेपाल भित्रिएको छ । भन्सार विभागले हालै उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८१–८२ को साउनदेखि जेठ महिनासम्मको तथ्याङ्कले यस्तो देखाएको हो । 

समीक्षा अवधिमा ३१ अर्ब ५५ करोड १५ लाख १९ हजार रुपैयाँ बराबरको इभि आयात भएको छ । विभागका अनुसार ११ महिनामा १३ हजार ४९२ युनिट इभि नेपाल भित्रिएको हो । यो गत आवको सोही अवधिको तुलनामा भने १७.६७ प्रतिशत बढी हो । गत आवको साउनदेखि जेठसम्म २९ अर्ब रुपैयाँ बराबरको ११ हजार ४६६ युनिट इभि नेपाल भित्रिएका थिए ।  

विशेष गरी जेठ महिनामा इभीको आयातमा तीव्र उछाल आएको छ । गत जेठमा मात्रै ३ हजार ६३३ वटा इभि नेपाल भित्रिएका छन् । जेठमा ८ अर्ब ४४ करोड ५७ लाख रुपैयाँ बराबरको इभि आयात भएको विभागले जनएको छ ।

बजेटमार्फत इभीमाथि कर वृद्धि गर्ने अनुमानसँगै जेठमा इभीको आयात उल्लेखनीय रूपमा बढेको हो । राजश्व सङ्कलनमा दबाब खेपिरहेको सरकारले स्रोत विस्तारका लागि इभीमा कर बढाउन सक्ने  आकलनसहित व्यापारीहरूले साढे ३ हजार इभि युनिट आयात गरेका हुन् । तर, सरकारले इभिमा कर वृद्धि नगरी यथावतै राखेको छ । 

विभागका अनुसार गत वैशाखमा मात्रै ४ अर्ब ४८ करोड ३४ लाख रुपैयाँ बराबरका १ हजार ८९२ युनिट इभि नेपाल भित्रिएका छन् । 

विभागका अनुसार गत चैतमा ८७८ युनिट, फागुनमा ८३३ युनिट, माघमा ७७६ युनिट, पुसमा ७८३ युनिट, मंसिरमा २१० युनिट, कात्तिकमा ९६९ युनिट, असोजमा ९१६युनिट, भदौमा २१ युनिट र साउनमा ३८१ युनिट इभि नेपाल आएका थिए । 

हाल नेपालमा छिमेकी मुलुक चीन, भारत, कोरिया, जर्मन, अमेरिका र इन्डोनेसिया लगायतका मुलुकहरूबाट विद्युतीय गाडी आयात हुने गरेको छ । ती मुलुकहरूबाट ५० किलोवाटदेखि ३०० किलोवाट तौल क्षमताका ईभी आयात हुँदै आएका छन् ।

बीवाईडी, टाटा, एमजी, नेटा, हुन्डाई जस्ता ब्रान्डहरू नेपाली सडकमा द्रुत गतिमा दौडिरहेका छन् ।

नेपाल भित्रने इभिमा सबैभन्दा ठुलो हिस्सा चिनियाँ गाडीको छ । कुल इभि आयातमा चिनियाँ ब्रान्डको ७५.६३ प्रतिशत हिस्सा छ । ११ महिनामा चीनबाट १० हजार २०३ युनिट इभि नेपाल भित्रिएका छन् । 

विभागका अनुसार भारतबाट ३ हजार १७९ युनिट इभि आयात भएको छ । यस्तै, मलेशियबाट ५० युनिट, जर्मनीबाट ३६ युनिट, अमेरिका र कोरियाबाट ६–६ युनिट, इन्डोनेसियाबाट ४ युनिट इभि आयात भएका छन् । 

नेपालमा इभीको मुख्य बजार मध्यम क्षमताका पारिवारिक सवारीमा केन्द्रित रहेको छ ।  उच्च क्षमताका सवारीको हिस्सा अझै सीमित छ । यद्यपि, चार्जिङ पूर्वाधार विस्तारसँगै त्यसको हिस्सा थप बढ्नेछ । 

विभागका अनुसार आयात हुने इभिमध्ये ५१ देखि १०० किलोवाट क्षमताका धेरै छन् । कुल आयातमा यस्तो सेग्मेन्टका इभिको हिस्सा ५४.५३ प्रतिशत छ । समीक्षा अवधिमा विभिन्न मुलुकबाट यस्तो क्षमताका ७ हजार ३५८ युनिट इभि आयात भएको छ ।  

दोस्रो ठुलो हिस्सा ओगटेको ५० किलोवाट क्षमताका ४ हजार ७३७ युनिट इभि आयत भएका छन् । कुल आयातमा यस्तो सेग्मेन्टको हिस्सा ३५.११ प्रतिशत रहेको छ । 

विभागका अनुसार ११ महिनामा १०१ देखि २०० किलोवाट क्षमताका १ हजार ३५४ युनिट, २०१ देखि ३०० किलोवाटका ४३ युनिट इभि आयात भएको देखिन्छ ।