लोवर मिड रावा खोला हाईड्रोपावर प्रोजेक्टको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ नियुक्त
काठमाडाैं । खोटाङ जिल्लामा निर्माणाधीन ४ मेगावाट क्षमताको लोवर मिड रावा खोला हाईड्रोपावर प्रोजेक्ट लिमिटेडले सर्वसाधारणका लागि १० करोड रुपैयाँ बराबरको प्राथमिक शेयर निष्कासन गर्ने तयारी थालेको छ।
यस प्रयोजनका लागि हाईड्रोपावर कम्पनी र आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडबीच २०७९ असार २३ गते सम्झौता सम्पन्न भएको छ। सम्झौता अनुसार, आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई प्राथमिक शेयर निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरिएको छ।
शेयर निष्कासन अन्तर्गत कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १० कराेड रकम बराबरकाे १० लाख कित्ता शेयर सर्वसाधारणमा जारी गर्नेछ। यस माध्यमबाट संकलित रकम परियोजनाको निर्माण र सञ्चालनमा उपयोग गरिने कम्पनीले जनाएको छ।
सम्झौतापत्रमा लोवर मिड रावा खोला हाईड्रोपावरको तर्फबाट कार्यकारी अध्यक्ष शम्भु प्रसाद घिमिरे र आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन्।
आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा सञ्चालित मर्चेन्ट बैंकिङ्ग संस्था हो, जसले हाल विभिन्न परियोजनाहरूमा पूँजी बजार सम्बन्धी सेवा दिँदै आएको छ।













