बाढीले क्षतिग्रस्त जलविद्युत पूर्वाधार पुनर्निर्माणका लागि सरकारलाई इप्पानको आग्रह - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

बाढीले क्षतिग्रस्त जलविद्युत पूर्वाधार पुनर्निर्माणका लागि सरकारलाई इप्पानको आग्रह



काठमाडाैं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानले तिब्बतबाट ल्हेन्दे खोला हुँदै भोटेकोशी नदीमा आएको हालैको विनाशकारी बाढीले नेपालको जलविद्युत क्षेत्रमा गम्भीर क्षति पुर्‍याएको जनाएकाे छ ।

प्रेस विज्ञप्ति जारी गर्दै इप्पान ले बाढीले पुर्याएको क्षतिको पुनर्निर्माणका लागि आवश्यक नीतिगत र प्रक्रियागत सहजीकरण सुनिश्चित गर्न, विद्युत उत्पादन तथा प्रसारण पुनः सञ्चालन गर्न, र भविष्यमा हुन सक्ने थप क्षतिलाई रोक्नका लागि आवश्यक उपायहरू कार्यान्वयन गर्न सरकारलाई आह्वान गरेको हो।

बाढीका कारण रसुवा र नुवाकोट जिल्लामा सञ्चालित तथा निर्माणाधीन गरी १० भन्दा बढी जलविद्युत आयोजनामा क्षति पुर्‍याउनुका साथै नेपाल र चीनलाई जोड्ने मितेरी पुल बगाउँदै टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाहमासमेत ठूलो क्षति पुर्‍याई ७ जनाको ज्यान जानुका साथै १९ जना नागरिक बेपत्ता भएको घटनाप्रति इप्पानले दुख व्यक्त गरेको छ ।

हालको विपद्का कारण कुल २५० मेगावाट क्षमताका उत्पादनशील आयोजना पूर्ण रूपमा बन्द भएका र करिब ३५० मेगावाट क्षमताका निर्माणाधीन आयोजना पनि प्रभावित भएकाे इप्पानले जनाउकाे छ ।

उत्पादन अवरुद्ध भएका प्रमुख आयोजनाहरूमा १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजना, ६० मेगावाटको त्रिशूली-३ए, २५ मेगावाटको त्रिशूली जलविद्युत केन्द्र, २२ मेगावाटको चिलिमे, १४ मेगावाटको अपर मैलुङ, १४ मेगावाटको देवीघाट र ५ मेगावाटको मैलुङ खोला आयोजना छन्।

यसैगरी, २१६ मेगावाटको अपर त्रिशूली–१, १०० मेगावाटको सुपर त्रिशूली, र ३७ मेगावाटको त्रिशूली–३बी जस्ता आयोजना निर्माण रोकिएका उल्लेखनीय उदाहरण हुन्।

इप्पानले यस्तो संकटपूर्ण अवस्थामा सरकारलाई नीति तथा कानुनी स्तरमै तत्काल लचिलो व्यवस्था मिलाउन र बाढी प्रभावित क्षेत्रहरूमा पुनर्निर्माण प्रक्रिया द्रुत गतिमा अघि बढाउन अनुरोध गरेको छ।

इप्पानले ऊर्जा सुरक्षालाई राष्ट्रिय प्राथमिकतामा राखी सार्वजनिक तथा निजी क्षेत्रको सहकार्यमा प्रभावकारी कदम चाल्न आह्वान गर्दै, यो अवस्था समाधान नगरे आर्थिक र ऊर्जा संकट थप जटिल बन्न सक्ने चेतावनीसमेत दिएको छ।


प्रतिक्रिया दिनुहोस्