१२ श्रावण २०८३, मंगलबार

ओडिशा ‘छोरी’हरुका लागि असुरक्षित, एनओसी दिन किन रोक्दैन सरकार ?



काठमाडौँ । भारतको ओडिशा राज्यमा आफ्ना सन्तान, खासगरी छोरीहरुलाई पढ्न पढाउनु अत्यन्तै घातक हुने देखिएको छ । त्यहाँ महिला हिंसा एक ‘सर्वस्वीकार्य’ प्रक्रियाजस्तो देखिएको छ ।

केही समय अघि दुई जना नेपाली छोरीहरु हिंसाको शिकार भएर मृत्युवरण गर्नुपरेको उक्त राज्यमा अहिले पुनः एकपल्ट भारतीय छात्राले नै आत्महत्याको प्रयास गरेको खबर आएको छ ।

त्यो पनि आफ्नै शिक्षकको बारम्बारको हिंसाका कारण । ओडिशाको बालासोर स्थित फकीर मोहन कलेजकी एक छात्राले गत शनिबार दिउँसो आफ्ना प्राध्यापकको यौनहिंसा सहन नसकेर आत्महत्याको प्रयास गरेकी छन् ।

महिनौदेखि कलेजकै एक विभागाध्यक्षले आफूमाथि यौन उत्पिडन गरिरहेको भनेर ती छात्रा बारम्बार कजेल प्रशासनलाई गुहार लगाउन गए पनि कुनै कारबाही नभएपछि आत्महत्याको कोसिस गरेको बताइएको छ । ती छात्राको स्वास्थ्य स्थिति निकै गम्भीर रहेको र उनलाई प्रादेशिक राजधानी भूवनेश्वरमा सघन उपचार कक्षमा राखेर उपचार भइरहेको बताइएको छ ।

ती बालिकोका मृगौला लगायत भित्री अंगहरुमा गम्भीर असर परेको भनेर चिकित्सकहरुले बताएको खबर बीबीसी हिन्दीले लेखेको छ ।

यसअघि ओडिशाकै भुवनेश्वरको कलिङ्गा इन्स्टिट्यूट अफ इन्डस्ट्रिअल टेक्नोलजी (केआईआईटी) मा लगातार दुई जना नेपाली छात्राले आत्महत्या गरेका थिए ।

आजभन्दा साढे दुई महिना अघि वीरगन्जकी १८ वर्षीय छात्रा प्रीशा साहले आत्महत्या गरेकी थिइन् । काठमाडौँको केएमसीमा १२ कक्षासम्मको अध्ययन सकेर बीटेक पढ्न गएकी साह ‘झुण्डिएको अवस्थामा’ फेला परिन् ।

प्रीशा साह

त्यो घटनाको साढे दुई महिना अगाडि पनि सोही कलेजमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको छात्रावासमै मृत्यु भएको थियो।

स्नातकमै अध्ययनरत बुटवलकी ती छात्रालाई पनि क्याम्पसकै होस्टलभित्र झुन्डिरहेको अवस्थामा फेला पारिएको थियो।

उक्त घटनाको ‘फलोअप’ गर्न गएको एउटा विश्वसनीय भारतीय हिन्दी युट्युब च्यानल ‘लल्लनटप’का पत्रकारहरुलाई सोही कलेज प्रशासनले ‘लखेटेको’ भिडियो सामग्री प्रशारण भएको थियो । उक्त च्यानलले त्यस कलेजमा कयौँ छात्राहरु आत्महत्या गर्ने भए पनि लम्सालको विषयमात्रै चर्चामा आएको भनेर विद्यार्थीहरुले बताएका थिए ।

प्रकृति लम्साल

लम्सालको मृत्युपछि नेपाली विद्यार्थीहरु नेपाल फर्किएका थिए । त्यसबेला घर आएकी प्रीशा साह पनि पहिलो वर्षको पढाइ सकेपछि ब्याङ्गलोर सर्ने सोचमा रहेको बीबीसीले लेखेको छ ।

लम्सालको मृत्युको घटना निकै चर्किएपछि नेपाल सरकारले ओडिशामा अध्ययनका लागि जान चाहने नेपाली विद्यार्थीलाई ‘नो अब्जेक्सन लेटर— एनओसी’ जारी नगर्ने विषयमा विचार गरिरहेको बताएको थियो ।

भारतीय जनता पार्टी (बीजेपी)का नेता एवम् ओडिशाका मुख्यमन्त्री मोहन चरण माझी ।

तर भारत सरकार र ओडिशाका मुख्यमंत्री मोहन चरण माझीसमेतको तीव्र दबाब थेग्न नसकेपछि नेपालले आफ्ना विद्यार्थीलाई पुनः फिर्ता पठायो र एनओसी पनि बन्द गरेन ।

मुख्यमन्त्री माझीले दिएको न्यायको आस्वासन पनि ‘हिस्स’ भएको छ । तर लाखौँ रुपैयाँ शुल्क तिरेर अध्ययनका लागि विदेश गएका नेपाली छात्राले भने मृत्युवरण गर्नु परेको छ ।

भगवान जगन्नाथको मन्दिर भएको, चारमध्ये एक शङ्कराचार्यको निवासक्षेत्र समेत रहेको छ ९३ प्रतिशत आवादी हिन्दु (ज्यादातर वैष्णव) रहेको उक्त भारतीय राज्य, छात्राहरुमाथि हुने हिंसा र उत्पीडनलाई रोक्न समर्थ भएको देखिँदैन ।

बरु, यस्ता हिंसाहरुमा राज्यसंयन्त्रमा प्रभाव पार्ने व्यक्तिहरुकै संरक्षण रहेको भनेर भारतीय सञ्चार संस्थाहरुले रिपोर्टिङ गरिरहेका छन् ।

यस्तो अवस्थामा नेपालले उक्त राज्यमा अध्ययनका लागि जान चाहने विद्यार्थीहरुलाई रोक्नुपर्ने जानकार बताउँछन् ।

यदी हाम्रो सरकार र नेताहरु भारतको धम्कीबाट दबिएर त्यसो गर्न सक्दैन भने नेपाली अभिभावकले ओडिशाको वास्तविकताबारे बुझेर त्यहाँ आफ्ना सन्तानलाई नपठाउन एउटा नागरिक अभियान नै छेड्नु आवस्यक भएको उनीहरुले बताए ।

प्राचीन भारतमा कलिंग भनिने ओडिसा (उडिसा) राज्य ।