साउनका लागि नयाँ ब्याजदर सार्वजनिक: १४ बैंकले घटाउँदा २ ले बढाए, हेर्नुस् कुनकाे कति ?
काठमाडाैं । आर्थिक वर्ष २०८२/८३ काे पहिलाे महिना साउनका लागि २० वटै वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।
जसअनुसार व्यक्तिगत र संस्थागत मुद्दति निक्षेपमा दिइने औसत ब्याजदर असारको तुलनामा केही घटेको देखिएको छ।
व्यक्तिगत मुद्दति निक्षेपमा असार महिनामा औसत अधिकतम ब्याजदर ५.९०२ प्रतिशत रहेकोमा साउनमा घटेर ५.६९७५ प्रतिशतमा झरेको छ।
त्यस्तै, संस्थागत मुद्दति निक्षेपमा औसत अधिकतम ब्याजदर अधिकतम ब्याजदर ४.३७३ प्रतिशत रहेकोमा साउनमा घटेर ४.११३प्रतिशतमा झरेको छ।
साउनका लागि २० वाणिज्य बैंकहरूमध्ये १४ बैंकले ब्याजदर घटाएका छन् भने ४ वाणिज्य बैंकले यथावत राखेका छन् । बाँकीले बढाएका छन् ।
ब्याजदर घटाउने बैंकहरूमा सबैभन्दा ठूलो परिवर्तन प्रभु बैंकले गरेको छ। यस बैंकले व्यक्तिगत निक्षेपमा ६.१ प्रतिशतबाट ४.२५ प्रतिशतमा झारेर १.८५ प्रतिशतले घटाएको छ भने संस्थागत निक्षेपमा ५ प्रतिशतबाट ३.२५ प्रतिशतमा घटाएर १.७५ प्रतिशतको भारी कटौती गरेको छ।
राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत निक्षेपमा ०.५ प्रतिशत घटाएर ५.५ प्रतिशतमा ल्याएको छ। संस्थागत दर भने ४ प्रतिशतमै यथावत् राखेको छ।
एभरेष्ट बैंकले पनि दुबै खालका निक्षेपमा ०.३ प्रतिशतले ब्याजदर घटाएको छ। व्यक्तिगत निक्षेपमा ६.५५ बाट ६.२५ मा झारेको छ भने संस्थागतमा ५.५५ बाट ५.२५ मा ल्याएको छ।
एनआईसी एशिया बैंकले पनि एभरेष्ट बैंककै जस्तै ब्याजदरमा ०.३ प्रतिशतको कटौती गर्दै व्यक्तिगत तथा संस्थागत दुवै निक्षेपमा ६.२५ र ५.२५ प्रतिशत ब्याज दिने घोषणा गरेको छ।
प्राइम कमर्सियल बैंकले ब्याजदर व्यक्तिगत निक्षेपमा ६.२५ बाट ६ मा र संस्थागतमा ३.३५ बाट ३.१ मा झार्दै करिब ०.२५ प्रतिशतको गिरावट ल्याएको छ।
नबिल बैंकले भने ब्याजदर यथावत् राखेको छ। व्यक्तिगत निक्षेपमा ५.७५ प्रतिशत र संस्थागत निक्षेपमा ४.०५ प्रतिशत कायम गरिएको छ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि ब्याजदरमा ०.२५ प्रतिशत घटाएर व्यक्तिगत निक्षेपमा ५.५ बाट ५.२५ प्रतिशतमा र संस्थागतमा ४.५ बाट ४.२५ मा झारेको छ।
लक्ष्मी सनराइज बैंकले पनि यस्तै गरी ब्याजदर ०.२५ प्रतिशत घटाएको छ। व्यक्तिगत निक्षेपमा ५.७५ बाट ५.५ मा र संस्थागतमा ४.५ बाट ४.२५ मा ल्याइएको छ।
सिटिजन्स बैंकले व्यक्तिगत निक्षेपमा ०.१५ प्रतिशत घटाएर ५.५ मा र संस्थागतमा १ प्रतिशतले घटाएर ३ मा पुर्याएको छ। यो संस्थागततर्फ सबैभन्दा ठूलो गिरावट हो।
सानिमा बैंकले पनि व्यक्तिगत निक्षेपमा ६.३३ बाट ६.१८ मा र संस्थागतमा ४.५ बाट ४ मा घटाएको छ।
नेपाल एसबीआई बैंकले पनि ब्याजदर व्यक्तिगततर्फ ०.१५ प्रतिशत घटाएर ५.५ बाट ५.३५ मा र संस्थागततर्फ ०.१५ प्रतिशत घटाएर ४.५ बाट ४.३५ मा झारेको छ।
कुमारी बैंकले ब्याजदरमा थोरै गिरावट ल्याउँदै व्यक्तिगत निक्षेपमा ५.७१ बाट ५.६१ प्रतिशतमा र संस्थागतमा ४.५१ बाट ४.०१ प्रतिशतमा झारेकाे छ भने कृषि विकास बैंकले पनि व्यक्तिगत निक्षेपमा ५.४५ बाट ५.४ प्रतिशतमा र संस्थागतमा ४.४५ बाट ३.५ प्रतिशतमा झारेको छ।
ग्लोबल आईएमई बैंकले साउनमा ब्याजदर ०.२५ प्रतिशत घटाउँदै व्यक्तिगत निक्षेपमा ६ बाट ५.७५ र संस्थागत निक्षेपमा ४.५ बाट ४.२५ मा ल्याएको छ।
४ वटा बैंककाे ब्याजदर यथावत्
नेपाल बैंकले ब्याजदर यथावत् राखेको छ। व्यक्तिगत निक्षेपमा ५.४५ र संस्थागतमा ४.५ प्रतिशत नै कायम छ भने एनएमबी बैंकले पनि ब्याजदर यथावत् राख्दै व्यक्तिगत निक्षेपमा ६ प्रतिशत र संस्थागतमा ५ प्रतिशत नै दिइरहेको छ।
यस्तै माछापुच्छ्रे बैंककाे ब्याजदर दुबै खालका निक्षेपमा ६ र ४ प्रतिशत ब्याज यथावत् राखेकाे छ भने सिद्धार्थ बैंकले भने कुनै पनि दरमा परिवर्तन नगरी व्यक्तिगतमा ५.७५ र संस्थागतमा ४.७५ प्रतिशत यथावत् राखेको छ।
यता स्ट्यान्डर्ड चार्टर्ड बैंक भने ब्याजदर बढाएकाे छ। व्यक्तिगत निक्षेपमा ६.२५ बाट ६.२६ प्रतिशतमा वृद्धि गरिएको छ। संस्थागत निक्षेपमा पनि ३ बाट ३.०१ प्रतिशतमा थोरै वृद्धि गरिएको छ।
यस्तै हिमालयन बैंकले संस्थागत निक्षेपमा ०.५ प्रतिशतको वृद्धि गर्दै ४ बाट ५ प्रतिशतमा पुर्याएको छ भने व्यक्तिगत निक्षेपमा ५.५ बाट ६ मा ल्याएर ०.५ प्रतिशतको वृद्धि गरेको छ।














