सुनमा दुई प्रतिशत विलासिता कर आजदेखि लागु, नतिर्ने सुनचाँदी व्यवसायीको अडान
काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को बजेट अनुसार, सुनको कारोबारमा २ प्रतिशत विलासिता कर र हीरा–रत्नमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) आज (साउन १ गते) देखि औपचारिक रूपमा लागू भएको छ।
बिहीबारदेखि नयाँ बजेट कार्यान्वयनमा आएसँगै करको यो व्यवस्था प्रभावमा आएको हो। यद्यपि, सुनचाँदी व्यवसायीहरूले सरकारद्वारा तोकिएको विलासिता कर नतिर्ने अडान लिएका छन्।
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष किसान सुनार र नेपाल सुनचाँदी व्यवसायी महासंघका कार्यवाहक अध्यक्ष दियेशरत्न शाक्यले बुधबार आन्तरिक राजस्व विभागका महानिर्देशकलाई पत्र लेखी हालको अवस्थामा विलासिता कर र भ्याट कार्यान्वयनमा सहयोग गर्न असमर्थ रहेको जनाएका छन्।
व्यवसायीहरूले उपभोक्ताबाट उठाइएको विलासिता कर राजस्व कार्यालयमा बुझाउनुपर्ने कानुनी व्यवस्था छ। यो कर आर्थिक ऐनमा स्पष्ट रूपमा उल्लेख भएकाले स्वतः कार्यान्वयनमा आएको हो।
यसअघि व्यवसायीहरूले विलासिता कर र भ्याट हटाउन माग गर्दै सटर बन्द गरी आन्दोलनमा उत्रिएका थिए। सरकारसँग भएको ६ बुँदे सहमतिपछि आन्दोलन स्थगित गरिएको थियो, जसमा ‘सुन तथा गरगहनालाई विलासिता वस्तुको परिभाषामा राख्ने विषयमा पुनरावलोकन गर्ने’ सहमति पनि समावेश थियो।
तर, हालसम्म बजेटमा कुनै संशोधन नभएकाले उक्त कर र भ्याटको प्रावधान आजदेखि पूर्ण रूपमा लागू भएको देखिन्छ।













