एनआईसी एशिया बैंकद्धारा लिलाम सम्पत्ति बिक्रीका लागि अनलाइन पोर्टल सार्वजनिक
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले लिलाम बिक्रीमा राखिएका सम्पत्तिहरूको विस्तृत जानकारी सरल ढंगले उपलब्ध गराउने उद्देश्यले नयाँ अनलाइन पोर्टल सार्वजनिक गरेको छ।
बैंकले बैंकिङ्ग सम्पत्ति, गैर बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्री सम्बन्धी सम्पूर्ण सूचना एकै ठाउँमा पाउन सकिने सुविधा सहितको पोर्टल सञ्चालनमा ल्याएको हो।
ग्राहकले https://auctionassistance.nicasiabank.com मा गई अथवा लिलामी सूचना सामग्रीमा रहेको क्युआर कोड स्क्यान गरी पोर्टलमा सिधै प्रवेश गर्न सक्नेछन्। उक्त पोर्टलमा प्रत्येक सम्पत्तिको कित्ता नम्बर, क्षेत्रफल, फोटो, नक्सा तथा गुगल म्यापसहितको स्थान विवरण समेत सहज रूपमा हेर्न सकिन्छ।
बैंकले सो पोर्टलमा सम्पत्तिको बारेमा थप जानकारी आवश्यक परेमा ग्राहकले आफ्नो नाम, इमेल, मोबाइल नम्बर र ठेगाना राखी म्यासेज पठाउन सकिने व्यवस्था पनि उपलब्ध गराएको छ। यसबाट इच्छुक व्यक्तिहरूले सम्पत्ति खरिदपूर्व सोझै जानकारी लिन सक्ने छन्।
एनआईसी एशिया बैंकका अनुसार उक्त पोर्टलमा नियमित रूपमा लिलाम बिक्रीमा राखिएका सम्पत्ति र सम्बन्धित सूचनाहरू अद्यावधिक गरिनेछ। बैंकलाई विश्वास छ कि यो डिजिटल पहलले लिलामी प्रक्रिया पारदर्शी, सहज र प्रभावकारी बनाउनेछ।
बैंकले सबै इच्छुक ग्राहकहरूलाई पोर्टलको प्रयोग गरी सम्पत्तिको मूल्याङ्कन र खरिद निर्णयमा थप सहजता लिन सकिने विश्वास व्यक्त गरेको छ।













