हिमालयन बैंकबाट ९ संस्थापक बाहिरिँदै, २ लाखभन्दा बढी संस्थापक शेयर बिक्रीमा
काठमाडौं । हिमालयन बैंक लिमिटेडबाट ९ जना संस्थापक शेयरधनी बाहिरिने भएका छन्। उनीहरूले बैंकमा रहेको आफ्नो स्वामित्व अन्त्य गर्दै २ लाख ५ हजार २४५ कित्ता संस्थापक शेयर बिक्रीमा राखेका हुन्।
बैंकमा संस्थापक शेयर रहेको ज्योति कुमार बेगानीले सबैभन्दा धेरै ७४ हजार ७५ कित्ता शेयर बिक्री गर्न लागेका छन्। त्यस्तै, प्रेम काजी खाइजू र गोपाल श्रेष्ठले समानरूपमा २८ हजार ६७६ कित्ता, सावित्री देवी अग्रवालले २६ हजार ४५४ कित्ता, र रामकाजी सिलवालले २३ हजार ८९६ कित्ता शेयर बिक्रीको प्रस्ताव गरेका छन्।
अन्य शेयरधनीमध्ये सुरक्षा सिजापतिले ११ हजार १५६ कित्ता, मैयाँ श्रेष्ठ बस्नेतले ५ हजार १४१ कित्ता, नारायण श्रेष्ठले ४ हजार, र चिरञ्जीवि लाल अग्रवालले ३ हजार १७१ कित्ता शेयर बिक्रीमा ल्याउने तयारी गरेका छन्।
नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार, यी शेयरहरू हालका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने व्यवस्था गरिएको छ। इच्छुक संस्थापक शेयरधनीले अबको ३५ दिनभित्र काठमाडौं, कमलादीस्थित हेरिटेज प्लाजामा रहेको बैंकको कानून विभागमा निवेदन दिनुपर्नेछ।
तोकिएको समयभित्र कोही संस्थापकले आवेदन नदिएमा बाँकी शेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।













