नबिल बैंकको ‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ बिक्री खुला
नबिल बैंक लिमिटेडले आजदेखि ‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ नामक ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ।
बैंकले आठ वर्ष अवधिको ऋणपत्र वार्षिक ७ प्रतिशत निश्चित ब्याजदरमा जारी गर्न लागेको हो। कुल तीन अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात १८ लाख कित्ता निजी स्थानमार्फत बाँडफाँट गरिनेछ ।
भने बाँकी ४० प्रतिशत अर्थात १२ लाख कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्काशनमार्फत बिक्री गरिनेछ। सर्वसाधारणमा बिक्री गरिने ऋणपत्रमध्ये पाँच प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको छ।
ऋणपत्रमा न्यूनतम २५ कित्ताका लागि आवेदन दिन सकिनेछ भने अधिकतममा कुनै सिमा तोकिएको छैन। यस डिबेन्चरको निष्काशन छिटोमा साउन ९ गते र ढिलोमा साउन २० गतेसम्म खुला रहनेछ।
नबिल बैंकको यो ऋणपत्र निष्काशन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडले लिएको छ।













