बन्दीपुर केवलकारको आईपीओमा आजदेखि आवेदन दिन सकिने
काठमाडाैं । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले आजदेखि आईपीओ निष्काशन खुला गरेको छ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गरी शेयर निष्काशन सुरु गरेको हो।
कम्पनीले कुल २ अर्ब ८३ करोड रुपैयाँको जारी पूँजीको २०.७०६७ प्रतिशत अर्थात् ५८ करोड ६० लाख रुपैयाँ बराबरको ५८ लाख ६० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो।
यस अन्तर्गत, कम्पनीले ५ करोड ६६ लाख रुपैयाँ बराबरका ५ लाख ६६ हजार कित्ता शेयर आयोजनाबाट प्रभावित क्षेत्रका स्थानीयवासीहरूका लागि निष्काशन गर्दैछ।
यस शेयरमा तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिकाका सबै वडा, आँबुखैरेनी गाउँपालिकाका सबै वडा, भानु नगरपालिकाको वडा नं १ र गोरखा जिल्लाको पालुङ्टार नगरपालिकाको वडा नं. ७ मा बसोबास गर्ने स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन्।
त्यसैगरी, ५ लाख २९ हजार ४०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ। उक्त शेयरको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको छ, जसको कूल रकम ५ करोड २९ लाख ४० हजार रुपैयाँ हुन्छ। आवेदन दिन चाहने वैदेशिक श्रमिकहरूले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरेको हुनुपर्नेछ।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्ता सम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
आयोजना प्रभावित स्थानीयवासीका लागि निष्काशन छिटोमा साउन २० गते र ढिलोमा भदौ ४ गते बन्द हुनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि निष्काशन छिटोमा साउन ९ गते र ढिलोमा साउन २० गते बन्द हुने जानकारी कम्पनीले दिएको छ।













