यस वर्ष १२ प्रतिशत घट्यो धान रोपाइँ, ४ लाख हेक्टर जमिन बाँझै
काठमाडौं । यस वर्ष हालसम्म देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ, जुन गत वर्षको यही अवधिको तुलनामा १२ प्रतिशतले कम हो।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार करिब १० लाख हेक्टर जमिनमा रोपाइँ सकिएको छ, जबकि कुल रोपाइँ हुने क्षेत्रफल करिब १४ लाख हेक्टर हो।
यस अवधिमा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ९७ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। त्यसपछि कर्णाली र लुम्बिनी प्रदेशमा ८८ प्रतिशत, र वाग्मती प्रदेशमा ८७ प्रतिशत रोपाइँ भएको जनाइएको छ। सुदूरपश्चिममा करिब १ लाख ७१ हजार हेक्टर जमिनमा रोपाइँ सकिएको हो भने वाग्मतीमा १ लाख ५ हजार हेक्टरमा धान रोपिएको छ।
मौसमले साथ दिए साउनको अन्तिमसम्म ९८ प्रतिशत रोपाइँ पुग्ने मन्त्रालयको अनुमान छ। तर, यो वर्ष मौसमको प्रतिकूलता, दैवी प्रकोप, अतिवृष्टि तथा अनावृष्टिका कारण कतिपय क्षेत्रमा रोपाइँ ढिला भएको छ।
गत वर्ष यही समयमा ८४ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो। तर, नवीनतम ज्ञान, उन्नत बीउबिजन र प्रविधिको प्रयोगका कारण यस वर्ष उत्पादनमा केही वृद्धि हुने अपेक्षा गरिएको छ।
आर्थिक वर्ष २०८०/८१ मा देशभर ५७ लाख २४ हजार मेट्रिकटन धान उत्पादन भएको थियो। मन्त्रालयका अनुसार, धान उत्पादनमा १० प्रतिशतले घटबढ हुँदा कूल गार्हस्थ्य उत्पादन ९न्म्ए० मा एक प्रतिशतको असर पर्ने देखिन्छ।
यस वर्ष उत्पादन हुने अनुमान गरिएको ६० लाख मेट्रिकटन धानबाट करिब ३५ लाख मेट्रिकटन चामल उत्पादन हुने मन्त्रालयले जनाएको छ। विशेषतः तराई क्षेत्रलाई धान उत्पादनका लागि उपयुक्त मानिन्छ, जहाँबाट देशको ७० प्रतिशत धान उत्पादन हुने गरेको छ। बाँकी ३० प्रतिशत उत्पादन पहाडी क्षेत्रबाट हुने गर्छ।













