झापा इनर्जीले साउन १४ गतेदेखि आईपीओ निष्काशन गर्ने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

झापा इनर्जीले साउन १४ गतेदेखि आईपीओ निष्काशन गर्ने



काठमाडाैं । झापा इनर्जी लिमिटेडले सौर्य ऊर्जा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आगामी साउन १४ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गर्ने भएको छ।

कम्पनीले आफ्नो जारी पूँजी ३८ करोड १ लाख ९० हजार रुपैयाँको १० प्रतिशत बराबरको शेयर निष्काशन गर्न लागेको हो। यसअनुसार, कुल ३ लाख ८० हजार १९० कित्ता साधारण शेयर प्रतिकित्ता १०० रुपैयाँको दरमा जारी हुनेछ।

कुल शेयरमध्ये ३ लाख ८० हजार १९० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ। तीमध्ये १ लाख ९० हजार ९५ कित्ता शेयर आयोजना स्थल (शिवसताक्षी नगरपालिका–४) र आसपास १०० मिटरभित्रका प्रत्यक्ष प्रभावित बासिन्दाहरूलाई बाँडफाँट गरिनेछ। बाँकी १ लाख ९० हजार ९५ कित्ता शेयर भने सोही वडाका अन्य स्थानीयहरूलाई प्रदान गरिनेछ।

यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि कम्पनीले ५७ हजार २९ कित्ता शेयर निष्काशन गर्नेछ। यो शेयर सर्वसाधारणका लागि छुट्याइएको भागको १० प्रतिशत हो। यसमा नेपाल सरकारबाट श्रम स्वीकृति लिएर विदेशमा रहेका नेपालीहरूले आवेदन दिन सक्नेछन्।

आईपीओमा आवेदन दिन न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्ता माग गर्न सकिनेछ।

आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आईपीओ छिटोमा साउन २८ गते र ढिलोमा भदौ १२ गतेसम्म खुला रहनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि भने छिटोमा साउन १८ गते र ढिलोमा साउन २८ गतेसम्म आवेदन दिन सकिनेछ।


प्रतिक्रिया दिनुहोस्