२४ भदौ २०८३, बुधबार

नाइमा एक्स्पोमा ५० वटा ब्रान्डहरू सहभागी हुँदै, इभीदेखि कमर्सियलसम्मका ३५ नयाँ गाडी लन्च हुने



काठमाडौं । नेपालमा सवारीसाधन र प्रविधिको नयाँ यात्रा सुरु हुँदैछ । भृकुटीमण्डपमा आयोजना हुन लागेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२५’ ले आधुनिक, वातावरणमैत्री र नवप्रविधियुक्त सवारीसाधनको भव्य प्रदर्शन गर्नेछ ।

साउन २१ देखि २५ गतेसम्म सञ्चालन हुने यो प्रदर्शनीमा ३५ नयाँ सवारी मोडल पहिलोपटक सार्वजनिक हुँदैछन् । जसले नेपाली मोबिलिटी क्षेत्रलाई नयाँ दिशा दिने अपेक्षा समेत गरिएको छ ।

नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशनको आयोजनामा हुन लागेको यो एक्स्पो सवारीसाधनप्रेमी, व्यवसायिक प्रतिनिधि तथा प्रविधिमा रुचि राख्ने सर्वसाधारणका लागि लक्षित गरिएको नाइमले जनाएको छ ।

सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा नाइमाका पदाधिकारीहरूले एक्स्पोका विशेषता र तयारीबारे जानकारी दिएका थिए । अटो एक्स्पो समिति प्रमुख शिरीष कुमार मुरारकाले प्रदर्शनी स्थल भृकुटीमण्डपमा जलनिकासी, अपांगमैत्री पूर्वाधार र पहुँच सुधारजस्ता संरचनागत सुधार गरिसकिएको जानकारी दिए ।

उनका अनुसार एक्स्पोमा १५ वटा दुईपांग्रे, १५ वटा चारपांग्रे र ५ वटा व्यावसायिक सवारीसाधन सर्वाजनिक हुने छन् । समा ट्रक, भ्यान, मिनीबस जस्ता मोडल समावेश हुने छ । त्यसमध्ये धेरैजसो मोडल विद्युतीय प्रविधिमा आधारित हुने उनले जानकारी दिए ।

प्रदर्शनीमा ५० भन्दा बढी ब्रान्डहरू सहभागी हुँदै छन् । प्रमुख प्रायोजकको रूपमा एभरेष्ट बैंक लिमिटेड र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रहेका छन् ।

अन्य साझेदारहरूमा खल्ती बाइ आईएमई (टिकटिङ पार्टनर), माउन्टेन ड्यू (बेभरेज पार्टनर), हिमालयन जाभा (ब्रुइङ पार्टनर), पठाओ (राइड पार्टनर), एचआईके भिजन (सर्भेलेन्स), वल्र्ड लिङ्क (कनेक्टिभिटी), सोल्टी होटल (हस्पिटालिटी), फ्रन्टलाइन हस्पिटल (मेडिकल), एनसेल (टेलिकम) र मिडिया स्पेस सोलुसन (म्यानेजमेन्ट) रहेका छन् ।

पठाओले प्रदर्शनी अवधिभर भृकुटीमण्डप जाने यात्रुहरूलाई ३० प्रतिशतसम्मको छुट दिनेछ । फ्रन्टलाइन हस्पिटलले स्थलमा चौबिसै घण्टा आकस्मिक तथा सामान्य स्वास्थ्य सेवा र एम्बुलेन्स सुविधा उपलब्ध गराउने नाइमाले जनाएको छ ।

भिडिओ प्रतियोगिता र पुरस्कार

एक्स्पोलाई थप आकर्षक बनाउन नाइमाले अनलाइन भिडिओ प्रतियोगिता पनि सार्वजनिक गरेको छ । सहभागीहरूले नाइमा अटो एक्स्पो सम्बन्धी सिर्जनात्मक भिडिओहरू सामाजिक सञ्जालमा अपलोड गर्न सक्नेछन् ।

साउन २१ अघि अपलोड गरिने भिडिओहरूमध्ये उत्कृष्ट एक जनालाई १ लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । यस्तै, साउन २१ गतेदेखि २५ गतेभित्र अपलोड गरिने उत्कृष्ट १० भिडिओमध्ये प्रत्येकलाई १०–१० हजार रुपैयाँ दिइने नाइमाले जनाएको छ ।

ज्ञान सत्र र विज्ञहरूको उपस्थिति : सामाजिक उत्तरदायित्वमा जोड

प्रदर्शनीको पहिलो दिन अर्थात् साउन २१ गते अनिल केशरी शाह ले ‘मोबिलिटीः हिजो, आज र भोलि’ विषयमा दिउँसो २ देखि ५ बजेसम्म ज्ञान सत्र सञ्चालन गर्नेछन् कार्यक्रम तय गरिएको छ ।

अन्य दिनमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, शिक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय लगायतका निकायका प्रतिनिधि तथा विज्ञहरूले प्यानल छलफलमा भाग लिनेछन् ।

यता, नाइमाले टिकट बिक्रीबाट प्राप्त रकमको पाँच प्रतिशत छात्रवृत्ति तथा फेलोशिप कार्यक्रममा खर्च गरिने नाइमाकी अध्यक्ष रितु सिंह वैद्यले बताइन् । उनका अनुसार सो रकम शिक्षा मन्त्रालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभिटी) सँगको सहकार्यमा मोबिलिटीसम्बन्धी छात्रवृत्ति तथा फेलोशिप कार्यक्रमहरूमा खर्च गरिनेछ । यसका साथै एक्स्पो नेपालकै सबैभन्दा ठूलो र प्रभावशाली अटोमोबाइल प्रदर्शनी बन्नेमा अध्यक्ष वैद्यले विश्वास व्यक्त गरिन् ।

उनले सञ्चारकर्मी, साझेदार तथा विज्ञहरूको साथप्रति आभार व्यक्त गर्दै आगामी वर्षहरूमा पनि अझ व्यापक र प्रविधिमैत्री संस्करण ल्याउने प्रतिबद्धता जनाइन् ।

टिकट उपलब्धताः प्रदर्शनीको टिकट खल्ती बाइ आईएमई एपमार्फत खरिद गर्न सकिनेछ । नयाँ मोडल, नयाँ सोच र नयाँ प्रविधिको अनुभूति लिन चाहने जो–कोहीका लागि यो एक्स्पो अवलोकन गर्नैपर्ने अवसर बन्नेछ । एक्स्पोमा ८० हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको छ ।