झन्डै तीन अर्ब लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्तावका लागि आह्वान
काठमाडौं । नेपाल राष्ट्र बैंकले झन्डै तीन अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । केन्द्रिय बैंकले आफ्नो विभिन्न कोषहरुमा रहेको २ अर्ब ९२ करोड ५३ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरूमा मुद्दती निक्षेपका रूपमा लगानी गर्ने भएको हो ।
आगामी अगष्ट ११ गतेदेखि २०२६ को आगष्ट ११ सम्म ३६६ दिनका मुद्दती निक्षेपका रूपमा जम्मा गर्ने भएको छ ।
राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा २ अर्ब ३४ करोड ४ लाख, राष्ट्रियस्तरका विकास बैंकहरुमा ४३ करोड ८७ लाख र राष्ट्रियस्तरका वित्तीय संस्थाहरु १४ करोड ६२ लाख रुपैयाँ निक्षेप जम्मा गर्ने जनाएको छ ।
निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले चाहेको रकम तथा ब्याजदरसहित प्रस्ताव गर्न सक्नेछन् । राष्ट्र बैंकको निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले आफूले लिन चाहेको रकम तथा उक्त रकममा प्रदान गर्ने ब्याजदर समेत उल्लेख गरी साउन १४ गते गते राती १२ बजेसम्म बोलकबोल पेश गर्नुपर्नेछ ।
यसरी राखिएको मुद्दती निक्षेपको ब्याज बैंक तथा वित्तीय संस्थाले मासिक रुपमा भुक्तानी गर्नुपर्ने राष्ट्र बैंकले जानकारी दिएको छ ।














