१३८ गुणा बढ्यो आरम्भ चौतारीको नाफा : अधिकांश सूचकहरुमा उछाल, यो वर्ष कति दिन सक्छ लाभांश ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

१३८ गुणा बढ्यो आरम्भ चौतारीको नाफा : अधिकांश सूचकहरुमा उछाल, यो वर्ष कति दिन सक्छ लाभांश ?



काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले नाफामा छलाङ मारेको छ । कम्पनीको नाफामा १३८.८५ गुणा बढोत्तरी देखिएको छ ।

कम्पनीले हालै प्रकाशन गरेको गत आर्थिक वर्ष २०८१–८२ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

कम्पनीले गत आवमा कुल ९ करोड ४४ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आवको तुलनामा १३८.८५ गुणा धेरै हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ६ लाख ८० हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो ।

गत आवमा कम्पनीको खुद ब्याज आम्दानी पनि ३१.८९ प्रतिशत बढेर ३७ करोड २ लाख रुपैयाँ कायम भएको छ । यता, संचालन नाफा पनि ९३६.१३ प्रतिशत वृद्धि भई १३ करोड ४८ लाख ८३ हजार रुपैयाँ कायम भएको छ। कम्पनीको खुद ब्याज आम्दानी र संचालन नाफामा आएको बढोत्तरीले नै खुद नाफा वृद्धि भएको हो ।

कम्पनीको वितरणयोग्य नाफा ५ करोड २१ लाख रुपैयाँ छ । यसका आधारमा यो वर्ष कम्पनीले आफ्ना लगानीकर्तालाई १४.१९ प्रतिशत लाभांश दिन सक्ने सामार्थ्य बनाएको छ । हाल कम्पनीको चुक्ता पुँजी ३६ करोड ७१ लाख रुपैयाँ छ । कम्पनीले जगेडा तथा कोषमा भने २० करोड ६२ लाख रुपैयाँ कायम गरेको छ।

कम्पनीले खराब कर्जामा पनि व्यापक सुधार गरेको छ । अघिल्लो आवमा ४.२१ प्रतिशत रहेको खराब कर्जा अनुपात गत आवमा भने २.१३ प्रतिशत कायम भएको छ । हाल कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) २५.७२ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १५६.१८ रुपैयाँ रहेको छ ।

व्यवसाय विस्तार पनि कम्पनी निकै आक्रामक देखिएको छ । गत आवमा कम्पनीको निक्षेप संकलन २०.५४ प्रतिशत र कर्जा प्रवाह २५.२८ प्रतिशत बढेर क्रमशः ५ अर्ब २५ करोड ४१ लाख र ५ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्