२६ भदौ २०८३, शुक्रबार

छुट्ला है दरमखोला हाइड्रो इनर्जीको आईपीओ, आवेदन दिने आज अन्तिम दिन



काठमाडाैं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले साउन १५ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज साउन १९ गते अन्तिम दिन हो।

यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक शेयर निष्काशन गरिसकेको थियो। ती समूहमा बाँडफाँट प्रक्रिया पूरा भएपछि कम्पनीले अब सर्वसाधारणका लागि आईपीओ खुला गरेको हो।

कम्पनीले १ अर्ब ३ करोड ५ लाख रुपैयाँको जारी पूँजीमध्ये ३८.३३ प्रतिशत अर्थात् ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको हो।

यसअन्तर्गत १० करोड ३० लाख ५० हजार रुपैयाँ बराबरका १० लाख ३० हजार ५ सय कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि र २ करोड ९१ लाख ९५ हजार रुपैयाँ बराबरका २ लाख ९१ हजार ९५० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन भई बाँडफाँट गरिसकिएको छ।

यस्तै, कम्पनीले आफ्ना कर्मचारीहरूका लागि ५८ हजार ३९० कित्ता र सामूहिक लगानी कोषहरूका लागि १ लाख ४५ हजार ९७५ कित्ता शेयर पनि बाँडफाँट गरिसकेको छ।

अब दोस्रो चरणमा कम्पनीले सर्वसाधारणका लागि २४ करोड २३ लाख १८ हजार ५०० रुपैयाँ बराबरका २४ लाख २३ हजार १८५ कित्ता शेयर निष्काशन गरेको हो। यी शेयरहरू प्रतिकित्ता १०० रुपैयाँ दरमा उपलब्ध छन्।

यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।