बरुण हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने म्याद भदौ ३ सम्म थप - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

बरुण हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने म्याद भदौ ३ सम्म थप



काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले असार ३१ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने म्याद भदौ ३ गतेसम्मका लागि थप गरिएको छ। यसअघि सुरु गरिएको निष्काशन अवधि कम्पनीले थप गर्दै लगानीकर्तालाई आवेदन दिने थप समय दिएको हो।

कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर १ कित्ता नयाँ शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो। यसअनुसार, कम्पनीले कुल ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ बराबरको, प्रतिकित्ता १०० रुपैयाँ दरका ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद शेयर जारी गरेको हो।

यस हकप्रद निष्काशनको लागि कम्पनीले जेठ २२ गते बुकक्लोज गरेको थियो। त्यसअनुसार, जेठ २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र यसमा आवेदन दिन सक्नेछन्।

शेयर निष्काशन तथा बिक्री व्यवस्थापनको जिम्मा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले लिएको छ। लगानीकर्ताले बिक्री प्रबन्धकसँगै राष्ट्रिय वाणिज्य बैंकका बिभिन्न शाखाहरू, जस्तै, वीरगञ्ज, जनकपुर, नारायणगढ, बागलुङ, बुटवल, नेपालगञ्ज, वीरेन्द्रनगर, धनगढी, बिर्तामोड, हेटौँडा, तुल्सीपुर, महेन्द्रनगर, चैनपुर, खाँदबारी र धरानबाट आवेदन दिन सक्नेछन्।

त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि-आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सि-आस्बा प्रणाली प्रयोग गरेर वा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ मार्फत अनलाइन आवेदन दिन सकिने व्यवस्था पनि गरिएको छ।

कम्पनीले गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले बरुण हाइड्रोपावरलाई ‘केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ। यस रेटिङ्गले समयमै वित्तीय दायित्व पूरा गर्ने क्षमतामा औसत स्तरको जोखिम रहेको संकेत गर्छ।


प्रतिक्रिया दिनुहोस्