माबिलुङ इनर्जीको आईपीओ सर्वसाधारणका लागि साउन २६ गतेदेखि खुला हुने
काठमाडाैं ।माबिलुङ इनर्जी लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि साउन २६ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको शेयर बाँडफाँट गरिसकेको छ।
कम्पनीले ३८ करोड ५८ लाख २४ हजार रुपैयाँ बराबरको जारी पूँजीमध्ये ४८.९९९८ प्रतिशत, अर्थात् १८ करोड ९० लाख ५३ हजार रुपैयाँ बराबरका १८ लाख ९० हजार ५३० कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको हो।
जसमध्ये, ३ लाख ८५ हजार ८२४ कित्ता शेयर आयोजना प्रभावित स्थानीयबासीका लागि, र १ लाख ५० हजार ४७१ कित्ता शेयर विदेशमा रहेका नेपालीका लागि छुट्याएर बाँडफाँट गरिसकेको छ।
अब दोस्रो चरणमा, कम्पनीले १३ करोड ५४ लाख २३ हजार ५०० रुपैयाँ बराबरका १३ लाख ५४ हजार २३५ कित्ता शेयर निष्काशन गर्न लागेको हो। तीमध्ये ३० हजार ९५ कित्ता शेयर कर्मचारीका लागि र ७५ हजार २३६ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी १२ लाख ४८ हजार ९०४ कित्ता शेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्।
उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। निष्काशन छिटोमा साउन २९ गते र ढिलोमा भदौ ९ गते बन्द हुने बताइएको छ।













