१५ कार्तिक २०८३, आइतबार

तुर्कमेनिस्तानको एलएलडिसी सम्मेलन सकेर नेपाल फर्किए प्रधानमन्त्री ओली



काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तानबाट नेपाल फर्किएका छन् ।

उनी तुर्कमेनिस्तानमा सम्पन्न भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भई आज स्वदेश फर्किएका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे लगायतले प्रधानमन्त्रीलाई स्वागत गरे।

तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली उक्त सम्मेलनमा सहभागी हुन प्रस्थान गरेका थिए। यही साउन २० देखि २३ गतेसम्म तुर्कमेनिस्तानको ‘अवाजा’ सहरमा सम्मेलन आयोजना भएको थियो।

एशिया, युरोप, अफ्रिका र दक्षिण अमेरिकाका ३२ वटा भूपरिवेष्ठित विकासशील राष्ट्रहरूले सम्मेलनमा सहभागिता जनाएका थिए। सम्मेलनमा समुद्रमा प्रत्यक्ष क्षेत्रीय पहुँचको अभाव, यस्ता मुलुकहरूले भोग्नुपरेका समस्या र विश्व बजारबाट प्राप्त गर्न सकिने लाभबारे विस्तृत छलफल भएको थियो।

सम्मेलनमा कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्षका रूपमा प्रधानमन्त्री ओलीले सम्बोधन गरेका थिए। साथै, उनले एक उच्चस्तरीय गोलमेच बैठकको सहअध्यक्षता गर्नुका साथै विभिन्न अन्य कार्यक्रममा समेत सम्बोधन गरेका थिए।

सम्मेलनका क्रममा प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुखहरू, संयुक्त राष्ट्रसङ्घका उच्च अधिकारीहरू तथा अन्य अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरूसँग भेटवार्ता गरेका थिए।