११ श्रावण २०८३, सोमबार

नेपालमा डोङफेङ नामी ०१: प्रतिस्पर्धी मूल्य, लामो रेन्ज र स्मार्ट प्रविधिको संगम



काठमाडौं । हाल काठमाडौंका सडकमा गुडीरहेको नामी ०१ प्रिमीयम फिचर भएको प्रिमियम इलेक्ट्रीक ह्याचब्याक ईभी हो ।

गत वर्ष जेठमा नेपाल भित्रिएको यो मोडल विश्व प्रसिद्ध अटो निर्माता डोङफेङको नयाँ ऊर्जा सवारी ब्रान्ड ‘नामी’ अन्तर्गतको पहिलो उत्पादन हो, जुन डोङफेङ क्वान्टम आर्किटेक्चर एस ३ प्लेटफर्म मा आधारित छ।

यस इभीमा फ्रेमलेस डोर, फ्लस ह्यान्डल्स, र सेल्फ पार्किङ जस्ता सेग्मेन्ट–फस्र्ट फिचरहरू रहेका छन्, जुन यस वर्गका अन्य कारहरूमा दुर्लभ देखिन्छ। यसका साथै, आधुनिक डिजाइन, स्मार्ट प्रविधि र दीर्घ रेन्ज क्षमताले यसलाई बजारमा प्रतिस्पर्धी बनाएको छ।

डिजाइन र आयामको कुरा गर्दा, नामी ०१ गोलाकार र भविष्यवादी लुकमा आएको छ। अगाडिको भागमा क्लोज्ड ग्रिल, त्रिकोणाकार हेडलाइट, लुकेका डोर ह्यान्डल, सस्पेन्डेड रूफ डिजाइन र गोलाकार टेललाइटले यसको सौन्दर्य बढाएको छ।

यसको लम्बाइ ४०३० मिमि, चौडाइ १८१० मिमि, उचाइ १५७० मिमि र ह्वीलबेस २६६० मिमि रहेको छ। ग्राउण्ड क्लियरेन्स १७५ मिमि छ भने टायर साइज २१५/६० आर १६ हो, जसमा स्ट्यान्डर्ड १६–इन्च वा वैकल्पिक १७–इन्च रिम्स उपलब्ध छन्। यसमा ५ जना यात्रु अट्ने सुविधा छ र नेपालमा आएको भर्सन डुअल टोन रंगमा उपलब्ध छ।

इन्टेरियर र प्रविधिको हिसाबले, यसमा दुई इन्टेरियर कलर स्किम ब्ल्याक एण्ड ह्वाइट र ब्ल्याक एण्ड ग्रे मा उपलब्ध छन्। कारमा १२.८ इन्चको फ्लोटिङ टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम (मोबाइल रिमोट कन्ट्रोल, ओटिए अपडेट, र स्मार्ट भ्वाइस कन्ट्रोल सहित), ५ इन्च एलसिडी इन्स्ट्रुमेन्ट प्यानल, र स्पोर्टी दुई–स्पोक मल्टीफंक्शनल स्टेरिङ ह्वील दिइएको छ।

अतिरिक्त सुविधा अन्तर्गत ३२–कलर एम्बिएन्ट लाइटिङ, वायरलेस मोबाइल चार्जिङ, ग्लोभबक्स मुनि पुल–आउट ड्रअर, र अगाडिका सिटमा वन–क्लिक लाय–फ्ल्याट मोड जस्ता फिचरहरू पनि छन्।

सुरक्षा र ड्राइभर असिस्ट फिचरमा यसले एडिएस २.० लेवल–२ प्रविधि सपोर्ट गर्छ। यसमा ब्लाइन्ड–स्पट मोनिटरिङ, अटोनोमस पार्किङ, रिमोट पार्किङ, फरवार्ड कोलिजन् वार्निङ, लेन–किपिङ असिस्ट, ट्राफिक साइन रेकग्निशन, र एडाप्टिभ क्रूज कन्ट्रोल जस्ता फिचरहरू समावेश छन्। साथै, ३६० डिग्री क्यामेरा र डुअल फ्रन्ट एयरब्याग पनि उपलब्ध छन्।

पावरट्रेन र ब्याट्रीको हिसाबले, नेपालमा आएको भर्सनमा ४२.३ किलोवाट÷ आवर लिथियम–आयरन–फस्फेट ब्याट्री प्याक जडान गरिएको छ, जसको दाबी गरिएको रेन्ज ४३० किलोमिटर (सिएलटिसी मापदण्ड अनुसार) हो। यसमा ७० किलोवाट क्षमताको मोटर (१६० एनएम टर्क) जडान गरिएको छ, जसले अधिकतम १४० किमि÷घण्टाको गति दिन सक्छ।

यो मोडलको अर्को भेरिएन्टमा ३१.४५ किलोवाट÷ आवर ब्याट्री प्याक पनि उपलब्ध छ, जसको रेन्ज ३३० किलोमिटर हो।
चार्जिङ क्षमताको कुरा गर्दा, यसले डिसी फास्ट चार्जिङ सपोर्ट गर्छ जसबाट ८ मिनेटमा २०० किलोमिटर रेन्ज चार्ज गर्न सकिन्छ। ३०%–८० प्रतिशत चार्ज गर्न ३० मिनेट लाग्छ। साथै, एसी स्लो चार्जिङ सुविधा पनि उपलब्ध छ।

चीनमा यो कार जनवरी ७, २०२५ मा आधिकारिक रूपमा लञ्च गरिएको थियो। त्यहाँ यसको मूल्य ७४,८००–१०४,८०० युआन (करीब १०,४००–१४,६०० अमेरिकी डलर) तोकिएको थियो, जुन प्रि–सेल मूल्य भन्दा ५,००० युआनले कम हो। पहिलो ब्याच जनवरी ६, २०२५ मा चीनको कारखानाबाट उत्पादन लाइनबाट बाहिरिएको थियो।

नेपालमा यसको आधिकारिक मूल्य ३९ लाख ९१ हजार रुपैयाँ राखिएको छ, जुन एमएडब्ल्यू वृद्धिले सार्वजनिक गरेको हो।