घरजग्गा व्यवसायीलाई राहत, अब हदबन्दी छुटको जग्गामा अपार्टमेन्ट बनाएर बेच्न पाइने
काठमाडौं । अब घरजग्गा व्यवसायीहरूले हदबन्दी छुटको जग्गामा घडेरी निर्माण गरेर त्यसभित्र अपार्टमेन्ट वा घर बनाएर बिक्री गर्न सक्ने भएका छन् ।
भूमि सम्बन्धी ऐन संशोधनका लागि संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले नयाँ विधेयकमा सहमति जनाएको हो ।यो व्यवस्था भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकमार्फत लागू गरिँदैछ । जुन आजै समितिबाट पारित गर्ने तयारी छ ।
यसअघि व्यवसायीहरूले घरजग्गा व्यापारका लागि अनुमति त लिए पनि हदभित्रको जग्गामा निर्माण गरी बिक्री गर्न नपाउने कानुनी जटिलता थियो। अब भने ऐन संशोधनपछि यस्तो अवरोध हट्ने भएको छ ।
विधेयक अनुसार व्यवसायी कम्पनीले घडेरी विकास गरेर त्यसमा घर वा अपार्टमेन्ट निर्माण गरी बिक्री गर्न पाउनेछन् । यद्यपि, सामूहिक प्रयोगमा रहने जमिन खरिदकर्ताको साझा स्वामित्वमा दाखिला गर्नुपर्नेछ ।
तर, भूउपयोग क्षेत्र वर्गीकरण अनुसार मात्रै बिक्री गर्न पाइने सर्त पनि थपिएको छ । वर्गीकरण नभइसकेको अवस्थामा भने मन्त्रालयको स्वीकृति लिएर ससीम (कित्ताकाट) गरी बिक्री गर्न मिल्नेछ ।
सरकारले भू–उपयोग नीतिका कारण कृषियोग्य जमिनमा हुने जटिलता हल गर्न समयमै अनुमति लिएका व्यवसायीलाई राहत दिने गरी ऐन संशोधन अघि सारेको हो ।
















