तयार भयो जलवायु वित्त परिचालनको कार्यविधिको मस्यौदा
काठमाडौं । जलवायु परिवर्तनका कारण उत्पन्न समस्या समाधान गर्ने उद्देश्यसहित सरकारले नयाँ ’जलवायु वित्त परिचालन कार्यविधि, २०८२’ को मस्यौदा तयार गरेको छ ।
अर्थ मन्त्रालयले तयार गरेको यस मस्यौदाले जलवायु परिवर्तनसँग जुझ्न आवश्यक बाह्य सहयोग रकमलाई प्रभावकारी रूपमा परिचालन गर्ने लक्ष्य राखेको छ ।
मस्यौदामा जलवायु अनुकूलन, उत्सर्जन न्यूनीकरण र कार्बन व्यापारको क्षेत्रमा प्रमुख प्राथमिकतामा राखिएको छ । साथै, सरकारको नीति, राष्ट्रिय अनुकूल योजना र दिगो विकास लक्ष्यलाई ध्यानमा राख्दै यो कार्यविधि तयार गरिएको छ ।
नेपालको जलवायु परिवर्तनमा योगदान कम भए पनि वातावरणीय संकटले गर्दा बाढी, पहिरो, हिमरेखा माथि सर्ने र पानीका मुहान सुक्ने जस्ता समस्याहरू बढ्दै गएका छन् । त्यास्ता समस्याहरूको समाधानका लागि थप स्रोतको आवश्यकता महसुस गरिएको छ, जुन आन्तरिक स्रोतले मात्र धान्न नसक्ने अवस्था आएको छ ।
साझा जलवायु कोषको व्यवस्था गरिने छ जसले जलवायु वित्त परिचालनमा भएको खण्डीकरण र दोहोरोपना रोक्न मद्दत गर्ने मस्यौदामा उल्लेख छ ।
प्रदेश र स्थानीय तहमा सशर्त अनुदानको रूपमा रकम प्रवाह गरिनेछ र निजी क्षेत्रलाई पनि जलवायु वित्त परिचालनमा स्वीकृति प्रक्रिया प्रस्ताव गरिएको छ ।















