नाइमा मोबिलिटी एक्स्पोमा बीवाइडीको तहल्का : वि१० र ओमोडाले मच्चाए धमाका, कुन ब्रान्ड कति बुकिङ्ग ?
काठमाडौं । ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२५’ को पहिलो संस्करणमा विद्युतीय गाडी निर्माता बीवाईडीले तहल्का मच्चाएको छ । बीवाइडीले सम्पूर्ण अटो उद्योगको ध्यान नै आफूतिर तान्न सफ लबनेको छ ।
काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न ऐतिहासिक नाइमा एक्स्पोमा २२ सयभन्दा बढी गाडी बुकिङ भएका छन् । तर, बीवाईडी एक्लैको ८०० युनिट बुकिङ भएका छन् । यसका आधारमा बीवाइडीले कुल बुकिङको झण्डै एक तिहाइ हिस्सा कब्जा गरेको छ । यो प्रतिशतमा झन्डै साढे ३६ प्रतिशत हाराहारी हुन आउँछ ।
नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा) को आयोजनामा भएको ६ दिन लामो एक्स्पोमा एक लाखभन्दा बढी दर्शकले अवलोकन गरेका थिए । गत साउन २१ गते बुधवारदेखि सोमबार (साउन २६ गते) सम्म मेला चलेको थियो ।
प्रदर्शनीमा ५० भन्दा बढी ब्रान्डले चारपांग्रे, दुईपांग्रे र व्यावसायिक सवारी साधनका सयौं मोडल राखेका थिए । एक्स्पोमा बीवाईडीको अगुवाइ, सांग्रिलाको पकड र थुप्रै ब्रान्डको आक्रामक उपस्थिति रहन पुग्यो ।
बुकिङको हिसाबले केही ब्रान्ड मात्र अगाडि देखिएका छन् । त्यसको अग्रपंक्तिमा बीवाईडी छ । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले एक्स्पोमा एटो–वान र सिलायन–७ मोडल प्रदर्शनीमा राखेको थियो । ती दुवै मोडलको आकर्षणमा विस्फोट नै रहन पुग्यो । बीवाइडीका ८०० युनिटभन्दा बढी बुकिङ भएको कम्पनीले जनाएको छ ।
बीवाईडीपछि बुकिङमा सबभन्दा अगाडि सांग्रिला मोटर्स कम्पनी छ । कम्पनीले लिपमोटर टी–०३, बी–१० र सिट्रोन सी–थ्री जस्ता मोडल प्रदर्शनीमा राखेको थियो । एक्स्पोमा २२५ भन्दा बढी युनिट बुकिङ भएको कम्पनीको दाबी छ ।
विशेष छुटले पनि लिपमोटर र सिट्रोनतर्फको ग्राहक आकर्षण बढाएको हो । टी–०३ मा ६ लाख छुट र सिट्रोनमा साढे ६ लाख रुपैयाँसम्मको छुट दिइएको थियो ।
यस्तै, प्रदर्शनीमा ओमोडा र जेको ब्रान्डको पनि दमदार उपस्थिति रहन पुग्यो । एक्स्पोमा ओमोडा र जेकोको ३६७ युनिट गाडी बुकिङ्ग भएको कम्पनीको दावी छ ।
यता, हुन्डाई (लक्ष्मी इन्टरकन्टिनेन्टल) २०० युनिट, एमजी ब्रान्ड १५० युनिट, महिन्द्रा १०० युनिट, काइ ५० युनिट, टोयोटा (युनाइटेड ट्रेडर्स सिन्डिकेट) २६ युनिट, फोर्थिङ फ्राइडे ३८, एलईभी (एलएस अटो) ३७, फक्सवागन २८ र म्याक्सस १२ युनिट भएको कम्पनीहरुले दावी गरेका छन् ।
दुईपांग्रे सवारीमा पनि उल्लेखनीय सफलता, कुन ब्रान्डको कति बुकिङ्ग ?
दुईपांग्रे सवारी साधनतर्फ पनि उल्लेख्य बुकिङ देखिएको छ । एक्स्पोमा बजाज चेतक (हंसराज हुलासचन्द) २०० युनिट बुकिङ भएको छ । यता, केटीएम बाइक पनि २०० युनिट बुकिङ भएको कम्पनीको दावी छ ।
यस्तै, ट्रायम्फ २०० युनिट, एथर स्कुटर (वैद्य एनर्जी) १५० युनिटभन्दा बढी, बेनेली र मोर्बिडेल्ली ८० युनिट बुकिङ्ग भएका छन् ।
सोल्ड आउट गाडीहरू
एक्स्पोमा केही मोडलहरू यस्तो मागमा परे कि सोल्ड आउट घोषणा समेत गर्नुपर्ने अवस्था सृजना भयो । चारपांग्रे तर्फ निसान लिफ, सिट्रोन सी–थ्री र ई–सी–थ्री र लिपमोटर टी–०३ रहेका छन् ।
यता, दुईपांग्रेमा भने बेनेली ७५२ एस र व्यावसायिक सवारीतर्फ निसान अर्बान माइक्रोबस रहेका छन् ।
निसानको लिफमा २० लाख रुपैयाँसम्म छुट दिइएको थियो, जसका कारण ६५ लाख पर्ने गाडी ४५ लाख रुपैयाँमै बिक्री हुन पुग्यो ।













