‘नम्बर वान्’ नबिल : ७ अर्ब नाघ्यो नाफा, लाभांश क्षमता पनि बढायो, कस्तो छ वित्तीय प्रगति ?
काठमाडौं । नबिल बैंकले सर्वाधिक नाफा कमाएको छ । एकै वर्षमा बैंकले ७ अर्ब बढी नाफा कमाएको ।
बैंकले मंगलबार प्रकाशन गरेको गत आर्थिक वर्ष २०८१–८२ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
गत आवमा बैंकले ७ अर्ब १२ करोड ७५ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आवको तुलनामा १५.०१ प्रतिशत बढी हो । अघिल्लो आवमा पनि बैंकले ६ अर्ब १९ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको थियो ।
बैंकले खुद ब्याज आम्दानी पनि १६ अर्ब ३२ करोड ७२ लाख रुपैयाँ कायम भएको छ । यता, संचालन नाफा पनि २५.४४ प्रतिशत बढेर १० अर्ब ८४ करोड ७८ लाख रुपैयाँ कायम भएको छ । बैंकको इम्पेयरमेन्ट चार्ज पनि ४ अर्ब ६३ करोड ७७ लाख रुपैयाँबाट घटेर २ अर्ब ३९ करोड ७९ लाख रुपैयाँ कायम भएको छ । जसका कारण कम्पनीको संचालन तथा खुद नाफा बढोत्तरी आएको हो ।
बैंकको वितरणयोग्य नाफा पनि ४ अर्ब ७७ करोड ३० लाख रुपैयाँ कायम भएको छ । यसका आधारमा यो वर्ष बैंकले आफ्ना सेयरधनीलाई १७.६४ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएको छ ।
हाल बैंकको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ छ । बैंकले जगेडा तथा कोषमा नभे ३६ अर्ब ६८ करोड २५ लाख रुपैयाँ राखेको छ ।
व्यवसाय विस्तारमा पनि बैंक आक्रामक देखिएको छ । बैंकको निक्षेप १३.५३ प्रतिशत बढेर ५ खर्ब २४ अर्ब ६२ करोड ५९ लाख रुपैयाँ कायम भएको छ ।यता, कर्जा लगानी पनि १०.५० प्रतिशत बढेर ४ खर्ब १२ अर्ब ७९ करोड ५५ लाख रुपैयाँ कायम भएको छ ।
बैंकको खराब कर्जामा ब्यापाक सुधार गरेको छ । अघिल्लो आवमा ४.४५ प्रतिशत रहेको खराब कर्जा गत आवमा आइपुग्दा भने ०.९५ प्रतिशतमा झरेको छ । हाल बैंकको प्रतिसेयर आम्दानी (इपिएस) २६.३४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २३५.५८ रुपैयाँ छ ।













