नेपाल-भारत विद्युत् व्यापारमा विस्तार, थप २०० मेगावाट निर्यातको सहमति
काठमाडाैं । भारत सरकारले नेपाललाई थप २०० मेगावाट विद्युत् निर्यात गर्न सहमति दिएको छ। भारतले साेमबार नेपालका विभिन्न ५ जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् भारततर्फ निर्यात गर्ने अनुमति प्रदान गरिएको हो।
स्वीकृत आयोजनाहरूमा तल्लो सोलुबाट ८० मेगावाट, लिखु–२ बाट ५०.८९ मेगावाट, लिखु खोला ‘ए’ बाट २८.२ मेगावाट, ठूलो खोलाबाट २०.७ मेगावाट, सुपर काबेली खोला ‘ए’ बाट १३.७ मेगावाट, र सुपर काबेली खोला आयोजनाबाट ६.८ मेगावाट विद्युत् निर्यात गरिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
यी आयोजनाहरूको कुल जडित क्षमता २३५ मेगावाट रहेको छ। पूर्ण क्षमताका हिसाबले तल्लो सोलु ८२ मेगावाट, लिखु–२ ५५ मेगावाट, लिखु खोला ‘ए’ ५१ मेगावाट, ठूलो खोला २१.३ मेगावाट, सुपर काबेली खोला ‘ए’ १३.७ मेगावाट र सुपर काबेली खोला १२ मेगावाट क्षमतामा रहेका छन्। जडित क्षमताभन्दा अलि कम विद्युत् मात्र निर्यात गर्न अनुमति दिइएको प्राधिकरणले स्पष्ट पारेको छ।
यसअघि भारतले नेपालका विभिन्न जलविद्युत् आयोजनाबाट कुल ८१०.९ मेगावाट विद्युत् निर्यातको अनुमति दिएको थियो। अहिले थप २००.२९ मेगावाट थपिएपछि भारतमा निर्यात हुने नेपालको कुल विद्युत् क्षमता १०१०.९ मेगावाट पुगेको छ।













