१ कार्तिक २०८३, आइतबार

रामहरि खतिवडाले दिए राज्य व्यवस्था समिति सभापतिबाट राजीनामा



काठमाडाैं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजिनामा दिएका छन् ।

मंगलबार प्रतिनिधि सभाको रोष्टमबाट खतिवडाले आफू एक इमान्दार जनप्रतिनिधि भएको बताउँदै समिति सभापतिको पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्।

उनले भने ‘निजामती विधेयक (कुलिङ पिरियड) मा जुन दिन त्रुटि भएको बाहिर आएको थियो, त्यसै दिन मैले गाडीलगायत सुविधा बुझाइसकेको थिएँ । ‘२ वर्षे कुलिङ पिरियड राख्नुपर्छ भनेर सुरूदेखि नै मैले अडान लिएको थिएँ, समितिले पनि अडान लियो र समितिबाट पारित गरेर संसदमा पठाइएको थियो।’

विधेयक प्रतिवेदन लेख्ने क्रममा त्रुटि हुन पुगेको देखिएको उनकाे भनाइ छ। उनले भने, ‘मबाट र समितिबाट त्रुटि भएको होइन, यस्ता त्रुटि अब अन्तिम हुनेछन् भन्ने विश्वास छ।’

विधेयकमाथि विशिष्ट श्रेणीका कर्मचारीको चलखेल भएको समेत उनले बताएका छन्। कुलिङ पिरियडमा आफ्नो कुनै स्वार्थ नभएको र छानबिन समितिले पनि आफूलाई दोषी नठहर्‍याएको उनको भनाइ छ।