सागर डिष्टिलरीको आईपीओ बिक्री खुला, क-कसले दिन पाउँछन् आवेदन ?
काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले आजदेखि साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूलाई लक्षित गर्दै आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले ७२ करोड ६० लाख रुपैयाँ जारी पूँजीको २० प्रतिशत बराबरको १४ करोड ५२ लाख रुपैयाँ मूल्य बराबरका १४ लाख ५२ हजार कित्ता साधारण शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरिसकेको छ।
जारी गरिने शेयरमध्ये १० प्रतिशत अर्थात् १ करोड ४५ लाख २० हजार रुपैयाँ बराबरका १ लाख ४५ हजार २०० कित्ता शेयर विदेशमा श्रम स्वीकृति प्राप्त गरी रोजगारीमा रहेका नेपाली नागरिकका लागि छुट्टाइएको हो। यी शेयरहरूको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको छ।
उक्त आईपीओमा भदौ १ गतेसम्म आवेदन दिन सकिनेछ। यदि सो अवधिमा पर्याप्त आवेदन नपरेमा, आवेदन म्याद भदौ ११ गतेसम्म लम्ब्याइनेछ। वैदेशिक रोजगारमा रहेका नेपालीले न्यूनतम १० कित्तादेखि अधिकतम ७,००० कित्तासम्म आवेदन दिन सक्नेछन्।
सागर डिष्टिलरी लिमिटेडको आईपीओ निष्काशन तथा बिक्री व्यवस्थापनको जिम्मा मुक्तिनाथ क्यापिटल लिमिटेडले लिएको छ।













