एकै वर्षमा उल्टियो नेशनल इन्स्योरेन्सको वित्तीय चित्र, एकाएक कसरी पुग्यो घाटामा ?
काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेड नोक्सानी देखिएको छ । कम्पनीले बुधवार प्रकाशन गरेको गत आर्थिक वर्ष २०८१–८२ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
कम्पनीले एकै वर्ष ६२ करोड ३९ लाख १२ हजार रुपैयाँ घाटा व्यहोरेको छ । जबकि, अघिल्लो आवमा कम्पनी २६ करोड ६७ लाख ९२ हजार रुपैयाँ नाफामा थियो ।
गत आवमा कम्पनीको खुद बीमा शुल्क आर्जन ९.४५ प्रतिशत घटेर ५६ करोड ६ लाख ६८ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो आवमा यस्तो बीमा शुल्क ६१ करोड ९१ लाख ७६ हजार रुपैयाँ रहेको थियो ।
कम्पनीको कुल आम्दानी २२.७० प्रतिशत घटेर ७० करोड ९ लाख रुपैयाँमा झरेको छ । जबकि, अघिल्लो आवमा यस्तो आम्दानी ९० करोड ६८ लाख ९१ हजार रुपैयाँ रहेको थियो ।
कम्पनीको कमिशन आम्दानी पनि १० करोड ४९ लाख रुपैयाँबाट घटेर १ करोड २७ लाख रुपैयाँमा सिमित भएको छ । यता, लगानी तथा कर्जाबाट हुने आम्दानी पनि १२ करोड ७५ लाख रुपैयाँ कायम भएको छ । जबकि, अघिल्लो आवमा यस्तो आम्दानी १८ करोड २२ लाख रुपैयाँ रहेको थियो ।
तर, कम्पनीको कुल खर्च एकै वर्ष २०७.७४ प्रतिशत अर्थात् ८७ करोड ८९ लाख रुपैयाँ बढेको देखिन्छ । अघिल्लो आवमा कम्पनीको कुल खर्च ४२ करोड ३० लाख रुपैयाँ रहेको थियो । तर, गत आवामा आइपुग्दा भने बढेर १ अर्ब ३० करोड १९ लाख रुपैयाँ कायम भएको छ । यसरी खर्च अचाक्ली बढ्दा नै कम्पनी नोक्सानीमा पुगेको हो ।
वित्तीय विवरणमा कम्पनीले आफ्नो चुक्ता पुँजी पनि उल्लेख गरेको छैन । विशेष जगेडा कोषमा १ अर्ब ४५ करोड ८९ लाख रुपैयाँ छ । महाविपत्ति कोषमा ३ करोड २१ लाख रुपैयाँ राखेको छ ।













