माबिलुङ्ग इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम माैका
काठमाडाैं । माबिलुङ इनर्जी लिमिटेडले साउन २६ गतेदेखि सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिन आज अन्तिम हाे।
यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरिसकेको थियो। ती चरणहरूमा बाँडफाँट सम्पन्न भएपछि अहिले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गरिएको हो।
कम्पनीले कुल जारी पूँजी ३८ करोड ५८ लाख २४ हजार रुपैयाँको ४८.९९९८ प्रतिशत अर्थात् १८ करोड ९० लाख ५३ हजार रुपैयाँ बराबरको १८ लाख ९० हजार ५३० कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको थियो।
यसमध्ये ३ लाख ८५ हजार ८२४ कित्ता आयोजना प्रभावित स्थानीयबासीका लागि र १ लाख ५० हजार ४७१ कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीका लागि छुट्याइएको शेयर पहिले नै निष्काशन गरी बाँडफाँट भइसकेको छ।
अब दोस्रो चरणमा कम्पनीले १३ करोड ५४ लाख २३ हजार ५ सय रुपैयाँ बराबरको १३ लाख ५४ हजार २३५ कित्ता शेयर निष्काशन गरेको छ।
यसमध्ये ३० हजार ९५ कित्ता कर्मचारीहरूका लागि र ७५ हजार २३६ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी रहेका १२ लाख ४८ हजार ९०४ कित्ता शेयर सर्वसाधारणले आवेदन दिन सक्ने छन्। यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।













