१४ कार्तिक २०८३, शनिबार

९६ लाखको गैरकानूनी सम्पत्ति, पर्यटन विभागका निर्देशक यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन विभागका निर्देशक सचिन्द्र कुमार यादव र उनकी पत्नी आशा कुमारी यादवविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

यादवले २०६६ देखि २०७९ सम्मको अवधिमा वैधानिक स्रोत बिना ९६ लाख रुपैयाँको सम्पत्ति आर्जन गरेको प्रमाणित भएको आयोगले जनाएको छ । उक्त अवधिमा यादव र उनका परिवारले २ करोड ६८ लाख आम्दानी गरे पनि खर्च ३ करोड ६५ लाख पुगेको देखिएको छ ।

आयोगले यादवको पदको दुरुपयोग गर्दै अस्वाभाविक जीवनस्तर यापन गरेको पुष्टि गर्दै भ्रष्टाचार निवारण ऐन अन्तर्गत कैद र जरिवाना माग गरेको छ । साथै, यादवले आर्जन गरेको सम्पत्ति पत्नीको नाममा राखेपछि आशा कुमारी यादवलाई पनि प्रतिवादी बनाइएको छ ।

आयोगले यादव दम्पतीको सम्पत्ति जफत गर्न र दोषी ठहराएमा कडा कारबाही गर्ने मागदाबी गरेको छ ।