दुई अंकको लाभांश बाँड्ने हैसियतमा ११ बैंकः एभरेष्ट र सानिमाको उच्च, कसको क्षमता कति ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

दुई अंकको लाभांश बाँड्ने हैसियतमा ११ बैंकः एभरेष्ट र सानिमाको उच्च, कसको क्षमता कति ?



काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सबैभन्दा धेरै लाभांश दिन सक्ने हैसियतमा एभरेष्ट बैंक देखिएको छ ।

बैंकले सो आवको मुनाफाबाट आफ्ना सेयरधनीलाई ३८.२७ प्रतिशत लाभांश दिने सक्नेछ । गत आवमा बैंकले ४ अर्ब ९१ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यता, वितरणयोग्य नाफा भने ४ अर्ब ९५ करोड ४४ लाख बढी छ ।

हाल बैंकको चुक्ता पुँजी १२ अर्ब ९४ करोड ४६ लाख रुपैयाँ छ । यसका आधारमा बैंकले यो वर्ष लगानीकर्तालाई ३८.२७ प्रतिशत लाभांश दिन सक्ने क्षमतामा देखिन्छ । अघिल्लो वर्ष पनि बैंक २८.०६ प्रतिशत लाभांश दिन सक्ने अवस्थामा थियो । यद्यपि, बैंकल १५.५३ प्रतिशत (५.५३ प्रतिशत नगद र १० प्रतिशत बोनस) लाभांश दिएको थियो ।

यता, गत आवको मुनाफाबाट सानिमा बैंकले पनि लाभांश क्षमता दोब्बर बनाएको छ । अघिल्लो आवमा बैंकको यस्तो क्षमता १०.६६ प्रतिशत मात्र थियो । तर, गत आवमा भने बैंकको यस्तो क्षमता बढेर २०.४७ प्रतिशत कायम भएको छ । गत वर्ष बैंकले २ अर्ब ५७ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको वितरणयोग्य नाफा भने २ अर्ब ७८ करोड ७ लाख रुपैयाँ माथि छ । हाल बैंकको चुक्ता पुँजी १३ अर्ब ५८ करोड १५ लाख रुपैयाँ छ ।

यस्तै, यो वर्षका लागि स्ट्यान्डर्ड चार्टर्ड, कृषि विकास, नबिल, प्राइम, ग्लोबल, सिद्धार्थ, लक्ष्मी सनराइज, नेपाल एसबिआई र एनएमबि बैंक दोहोरो अंकको लाभांश बाँड्न सक्ने हैसियतमा देखिएका छन् ।

वित्तीय विवरण अनुसार स्ट्यान्डर्ड चार्टर्डले चुक्ता पुँजीको १९.८५ प्रतिशत लाभांश दिन सक्ने अवस्थामा छ । बैंकले ३ अर्ब २ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । वितरणयोग्य नाफा १ अर्ब ९९ करोड ३३ लाख रुपैयाँ छ ।

यता, कृषि विकास बैंकको लाभांश क्षमता पनि उच्च नै छ । बैंकले यो वर्ष आफ्ना सेयरधनीलाई १८.४२ प्रतिशत लाभांश दिन सक्ने सामार्थ्य बनाएको छ । बैंकको चुक्ता पुँजी १३ अर्ब ८५ करोड ५२ लाख रुपैयाँ छ । बैंकको गत वर्ष कुल ३ अर्ब ८२ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको छ भने वितरणयोग्य नाफा २ अर्ब ५५ करोड २० लाख रुपैयाँ छ ।

नाफामा नम्बर वान कहलिएको नबिल बैंकको लाभांश क्षमता भने १७.६४ प्रतिशत छ । गत आवमा बैंकले खुद नाफा ७ अर्ब १२ करोड ७५ लाख रुपैयाँ पुर्याएको छ । वितरणयोग्य नाफा भने ४ अर्ब ७७ करोड ३० लाख रुपैयाँ छ ।

यस्तै, प्राइम बैंकले १४.३३ प्रतिशत, ग्लोबल आइएमईले १४.११ प्रतिशत, सिद्धार्थ बैंकले १३.२२ प्रतिशत, लक्ष्मी सनराइजले १२.३४ प्रतिशत, नेपाल एसबिआईले ११.२९ प्रतिशत र एनएमबि बैंकले १०.४१ प्रतिशत लाभांश बाँडन सक्ने सामार्थय बनाएका छन् ।

यता, माछापुच्छ्रे बैंकको लाभांश क्षमता ९.२३ प्रतिशत, सिटिजनको ५.२५ प्रतिशत, प्रभूको ४.४४ प्रतिशत, राष्ट्रिय वाणिज्यको १.९४ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगाको १.४४ प्रतिशत रहेको छ ।

नाफामा चामत्कारिक ग्रोथ गरेको कुमारीसहित चार बैंक भने लाभांश वितरण गर्न नसक्ने अवस्थामा देखिएका छन् । कुमारी, हिमालयन, एनआइसी एशिया र नेपाल बैंकको वितरणयोग्य नाफा ऋणात्मक छ ।

कुन बैंकले कति दिन सक्छ लाभांश ?

स्रोतः सम्वन्धित बैंकले प्रकाशन गरेको गत आवको वित्तीय विवरण, रकम हजारमा


प्रतिक्रिया दिनुहोस्