११ श्रावण २०८३, सोमबार

आईएमई मोटर्सको व्यापारमा रफ्तार : ९ महिनामा सवा दुई अर्बको कारोबार, ३ अर्ब कर्जाका लागि रेटिङ



काठमाडौं । मुलुकको मोटर व्यवसाय विस्तारै चलायमान बन्दै गएको छ । पछिल्लो समय विभिन्न मोटर कम्पनीहरुले उपलब्ध गराएको विवरणले यस्तो देखाएको हो । ती कम्पनीहरुले आफ्नो व्यापार विस्तार निकै आक्राम रुपमा बढाएको देखिन्छ ।

यसै सन्दर्भमा आईएमई मोटर्सले पनि आफ्नो कारोबार बढाउँदै लगेको छ । कम्पनीले पछिल्लो ९ महिनामै सवा २ अर्ब बढीको व्यापार गरेको छ ।

कम्पनीले सन् २०२५ को नौं महिनामा २ अर्ब २१ करोड ६० लाख रुपैयाँको कारोबार गरेको छ । गत वर्ष सन् २०२४ मा भने कम्पनीले २ अर्ब ३४ करोड ७० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । यो वर्ष कम्पनीको व्यापारको आकार ३ अर्ब नाघ्ने अनुमान गरिएको छ ।

उद्योगी चन्द्रप्रसाद ढकाल नेतृत्वको यो कम्पनीले सन् २०२३ मा१ अर्ब ७५ करोड १० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । विगत केही वर्षसम्म कम्पनीको व्यापारमा केही उतारचढाव देखिए पनि अहिले पनि पुनः गतिशिल बन्दै गएको आँकडाले देखाउँछ ।

कम्पनीका अनुसार सन् २०२२ मा ३ अर्ब १४ करोड, सन् २०२१ मा २ अर्ब ३७ करोड १० लाख र सन् २०२० मा १ अर्ब ८३ करोड २० लाख रुपैयाँको कारोबार भएको थियो ।

अहिले अशोक लेल्यान्ड ब्रान्डका बस तथा इन्टरमेडियट कमर्सियल सवारीसाधनको माग उच्च देखिएको छ । जसले कम्पनीको व्यापारमा महत्वपूर्ण योगदान पुर्याएको देखिन्छ ।

व्यापारसँगै आईएमई मोटर्सको नाफा मार्जिन पनि सुधारोन्मुख देखिएको छ । सन् २०२५ को ९ महिनाको अवधिमा कम्पनीको सञ्चालन नाफा १०.८ प्रतिशत पुगेको छ, जुन अशोक लेल्यान्डको आधिकारिक बिक्री शुरू गरेयताकै उच्च हो ।

रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार कम्पनीको कुल ऋण सञ्चालन नाफाको ८.३ गुणा पुगेको छ, जसअनुसार कम्पनीले साढे २ अर्ब रुपैयाँ हाराहारीको कर्जा लिएको अनुमान गर्न सकिन्छ ।

कम्पनीले ३ अर्ब २५ करोड रुपैयाँ बराबरको कर्जा रेटिङ गराएको छ । जसमध्ये २ अर्ब १२ करोड ९० लाख रुपैयाँ दीर्घकालीन र १ अर्ब १२ करोड १० लाख रुपैयाँ अल्पकालीन कर्जा रहेको छ ।

इक्राका अनुसार आईएमई मोटर्सले कर्जा क्षमताको १४४ प्रतिशत कर्जा लिएको छ, जुन अघिल्लो वर्षको १९३ प्रतिशत भन्दा कम हो । यस्तै, चालु पुँजी कर्जा कुल व्यापारको ७७ प्रतिशतमा सीमित गरिएको छ । यो अघिल्लो वर्ष १५५ प्रतिशत थियो । यसले कम्पनीको तरलता व्यवस्थापनमा सुधार देखाएको संकेत दिन्छ ।

उधारो कारोबारको औसत अवधि पनि घट्दै गएको देखिन्छ । अघिल्लो वर्ष ३६५ दिनसम्म उधारो अवधि कायम रहँदा यो वर्ष त्यो घटेर २२९ दिनमा झरेको छ । सन् २०२४ र २०२५ मा कम्पनीको वित्तीय अवस्था क्रमशः सुधार भइरहेकोले कर्जा र तरलता सम्बन्धी दबाब न्यूनीकरण भएको इक्राको प्रतिवेदनमा उल्लेख छ ।

आईएमई ग्रुपको यो कम्पनीले आफ्नो यात्रा सन् २०१० मा एलटी इन्टरप्राइजेजको रूपमा शुरू गरेको थियो । सन् २०१५ देखि हिन्दुजा ग्रुपको अशोक लेल्यान्ड गाडीको नेपालका लागि आधिकारिक बिक्रेता बनेको कम्पनीले सन् २०१७ देखि ‘आईएमई मोटर्स’ नाम अपनाएको हो ।

हाल आइएमई मोटर्सले अशोक लेल्यान्डका सम्पूर्ण कमर्सियल सवारीसाधन, बस, लाइट कमर्सियल भेइकल, इन्टरमेडियट कमर्सियल भेइकल, मिडियम कमर्सियल भेइकल, ट्रक, टिपर आदिको बिक्री वितरण गर्दै आएको छ ।