१४ कार्तिक २०८३, शनिबार

राउण्ड टेबल नेपालको २५ वर्षे सेवा यात्रा, ३० हजार सदस्यसहित ५८ देशमा फैलियो



काठमाडौं । राउण्ड टेबल नेपाल स्थापना भएको २५ वर्ष पूरा भएको छ ।

मैत्री, सेवा र व्यक्तिगत विकास को मूलमन्त्रका साथ सन् १९८९ मा स्थापना भएको संस्था आज १२ शहरमा सक्रिय छ । अन्तर्राष्ट्रिय स्तरमा ३० हजार भन्दा बढी सदस्यसहित ५८ देशमा फैलिएको छ ।

शिक्षाको क्षेत्रमा ६० भन्दा बढी विद्यालय र करिब ४०० कक्षाकोठा निर्माण गरी हजारौँ बालबालिकालाई गुणस्तरीय शिक्षा उपलब्ध गराउँदै आएको छ । ‘बालबालिकालाई शिक्षित गरौं’ अभियान अन्तर्गत वर्षेनी १ हजार बढी विपन्न बालबालिकालाई छात्रवृत्ति, पोशाक, पुस्तक र सामग्री वितरण गर्दै आएको छ ।

स्वास्थ्य क्षेत्रमा रक्तदान, दीर्घकालीन रोगी सहायता तथा शिक्षक तालिम कार्यक्रम सञ्चालन गर्दै आएको कम्पनीले जनाएको छ । वातावरण संरक्षणमा हरेक वर्ष १ लाख भन्दा बढी रूख रोप्ने, फोहोर पुन: प्रयोग कार्यक्रम र सगरमाथा सफाई अभियान लगायतका परियोजना संचालन गर्दै आएको छ ।

२०७२ को भूकम्पपछिको आपतकालीन राहत अभियानमा संस्था विशेष रूपमा सक्रिय बनेको थियो । देशभर राहत सामग्री वितरण, अस्थायी आवास र विद्यालय पुनर्निर्माणमा संलग्न भएको थियो ।

राउण्ड टेबल नेपालको कार्यले अन्तर्राष्ट्रिय मान्यता पनि पाएको छ । नेपाली सदस्य जयन्त कुमार अग्रवाल राउण्ड टेबल इन्टरनेशनलका अध्यक्ष पदमा निर्वाचित हुँदै नेपाललाई विश्वमञ्चमा चिनाएका छन् ।

संस्थाले हालसम्म ५० हजार भन्दा बढी व्यक्तिको जीवनमा प्रत्यक्ष प्रभाव पारेको छ । शिक्षा, स्वास्थ्य, वातावरण र नेतृत्वमा योगदान दिँदै राउण्ड टेबल नेपालले ‘एक उज्यालो नेपाल’ को परिकल्पनामा काम गरिरहेको छ ।