वाणिज्य बैंकहरुको कुल सम्पत्ति साढे ७७ खर्ब, कुन बैंक कति धनी ?
काठमाडौं । वाणिज्य बैंकहरुको कुल सम्पत्ति थपिने क्रम बढ्दो नै छ । पछिल्लो एक वर्षमै बैंकहरुको सम्पत्ति ८ खर्ब ७९ अर्ब रुपैयाँ बढेको छ ।
बैंकहरुले प्रकाशन गरेको गत आर्थिक वर्ष २०८१–८२ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
विवरण अनुसार हाल बैंकहरुको कुल सम्पत्ति ७७ खर्ब ७६ अर्ब ८५ करोड ६४ लाख रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्षको तुलनामा भने १२.७४ प्रतिशत बढी हो । अघिल्लो वर्षको असार मसान्तसम्ममा बैंकहरुसँग ६८ खर्ब ९७ अर्ब ८३ करोड ८० लाख रुपैयाँ बराबरको सम्पत्ति थियो ।
संचालनमा रहेका मध्ये एनआइसी एशिया बाहेक सबै बैंकको सम्पत्ति बढेको छ । सम्पत्तिकै आधारमा सबैभन्दा धनी ग्लोबल आइएमई बैंक छ । बैंकसँग ६ खर्ब ८९ अर्ब ७४ करोड ६८ लाख रुपैयाँ बराबरको सम्पत्ति छ । बैंकको सम्पत्ति एकै वर्ष ८५ अर्ब २२ करोड रुपैयाँ अर्थात् १४.१० प्रतिशत थपिएको हो । अघिल्लो वर्षसम्म बैंकसँग ६ खर्ब ४ अर्ब ५१ करोड ८१ लाख रुपैयाँ बराबरको सम्पत्ति थियो ।
गत वर्ष सर्वाधिक नाफा कमाएको नबिल बैंक भने सम्पत्तिको आधारमा दोस्रो ठुलो धनी बैंक हो । एकै वर्ष बैंकको सम्पत्ति ८१ अर्ब १३ करोड ५८ लाख रुपैयाँ बढेर ६ खर्ब ८१ अर्ब ५५ करोड ५७ लाख रुपैयाँ पुगेको छ । जबकि, अघिल्लो वर्ष ५ खर्ब ५७ अर्ब १ करोड ९८ लाख रुपैयाँ रहेको थियो । यसको तुलनामा बैंकको सम्पत्ति १४.५७ प्रतिशत बढेको हो ।
तेस्रो ठुलो धनी राष्ट्रिय वाणिज्य बैंकको सम्पत्ति पनि १४.९४ प्रतिशत बढेर ५ खर्ब ८५ अर्ब २५ करोड ७३ लाख रुपैयाँ कायम भएको छ । यता, चौंथो धनी ठुलो भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंक हो । बैंकसँग हाल ५ खर्ब ६५ अर्ब ६६ करोड ३३ लाख रुपैयाँ बरारबको सम्पत्ति छ । बैंकको सम्पत्ति एकै वर्ष १५.०८ प्रतिशत बढेको हो । अघिल्लो वर्षसम्म बैंकसँग ४ खर्ब ९१ अर्ब ५४ करोड १७ लाख रुपैयाँ बराबरको सम्पत्ति थियो ।
सम्पत्तिका आधार धनीको सूचीमा सूचीमा ग्लोबल, नबिल, एनआइएमबि र राष्ट्रिय वाणिज्य बैंक छन् । यी बैंकको सम्पत्ति ५ खर्ब माथि छ ।

बैंकको कुल सम्पत्ति निर्धारण गर्दा विभिन्न प्रकारका सम्पत्तिहरूलाई समावेश गरिन्छ । यसमा बैंकको नगद तथा नगद सरहका सम्पत्तिहरू, नेपाल राष्ट्र बैंकमा रहेको मौज्दात, अन्य बैंक तथा वित्तीय संस्थामा रहेको मौज्दात र व्युत्पन्न वित्तीय उपकरणहरू जस्ता सम्पत्तिहरू गनिन्छन् ।
त्यसैगरी, व्यापारिक प्रयोजनका लागि राखिएको सम्पत्ति, बैंकहरूले वित्तीय संस्थाहरूलाई दिएका कर्जा तथा अग्रिम रकम, ग्राहकहरूलाई उपलब्ध गराइएका कर्जाहरू, सुरक्षणपत्रमा गरिएको लगानी, चालू करसम्बन्धी सम्पत्ति, सहायक र सम्बद्ध संस्थाहरूमा गरिएको लगानी, लगानीको रूपमा रहेको सम्पत्ति, भौतिक सम्पत्ति तथा उपकरणहरू, ख्यातीसहितका अमूर्त सम्पत्तिहरू, स्थगित करसम्बन्धी सम्पत्ति र अन्य विविध सम्पत्तिहरू पनि बैंकको सम्पत्तिमा गणना गरिन्छ ।
सम्पत्तिकै आधारमा धनी बैंकको पाँचौं स्थानमा लक्ष्मी सनराइज छ । बैंकसँग ४ खर्ब ४३ अर्ब ७० करोड रुपैयाँ बराबरको सम्पत्ति छ । यता, छैटौं सूचीमा भने कुमारी बैंक छ । हाल बैंकसँग ४ खर्ब ४२ अर्ब ४९ करोड ६६ लाख रुपैयाँ बराबरको सम्पत्ति छ । बैंकको सम्पत्ति ८.०७ प्रतिशत बढेको छ ।
सातौं सूचीमा रहेको प्रभू बैंकसँग ४ खर्ब १्० अर्ब ६७ करोड रुपैयाँ बराबरको सम्पत्ति छ ।
यस्तै, नेपाल बैंकसँग ३ खर्ब ९९ अर्ब ३२ करोड १८ लाख, एनआइसी एशियासँग ३ खर्ब ७८ अर्ब ७६ करोड, हिमालयनसँग ३ खर्ब ७२ अर्ब ९४ करोड, एभरेष्टसँग ३ खर्ब ६५ अर्ब २० करोड, कृषि विकाससँग ३ खर्ब ६२ अर्ब ५० करोड, एनएमबिसँग ३ खर्ब ५२ अर्ब १० करोड, सिद्धार्थसँग ३ खर्ब ३८ अर्ब ७८ करोड, प्राइमसँग ३ खर्ब १७ अर्ब १४ करोड रुपैयाँ बराबरको सम्पत्ति छन् ।
त्यसैगरि सानिमा बैंकको सम्पत्ति पनि २ खर्ब ६३ अर्ब ४४ करोड, सिटिजन्सको २ खर्ब ४५ अर्ब ३७ करोड, नेपाल एसबिआईको २ खर्ब ३२ अर्ब ७५ करोड, माछापुच्छ्रेको २ खर्ब १७ अर्ब ६० करोड र स्ट्याण्डर्ड चार्टर्डको १ खर्ब ५५ अर्ब २० करोड रुपैयाँ बराबरको सम्पत्ति छ ।
कुन बैंकको सम्पत्ति कति ?














