के सुनमा लगाएको २ प्रतिशत विलासिता शुल्क हटाइएको हो ? यस्तो छ नयाँ व्यवस्था - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

के सुनमा लगाएको २ प्रतिशत विलासिता शुल्क हटाइएको हो ? यस्तो छ नयाँ व्यवस्था



काठमाडाैं । सरकारले सुन तथा सुनका गरगहनामा लगाएको २ प्रतिशत विलासिता शुल्ककाे व्यवस्था संशाेधन गरेकाे छ ।

आर्थिक ऐन, २०८२ मार्फत सुन तथा सुनका गरगहनामा लगाइएको विलासिता शुल्क सम्बन्धी व्यवस्था सरकारले कार्यान्वयनमा नआउँदै संशोधन गरेको हो ।

भदौ २ गते बसेको मन्त्रिपरिषद्को बैठकले यो शुल्क अब केवल व्यवसायीबाट उपभोक्तामा हुने कारोबारमा मात्र लागू हुने गरी व्यवस्था परिवर्तन गरेको हो।

पहिले ऐनमा राष्ट्र बैंकबाट व्यवसायीले सुन किन्दा, एक व्यवसायीबाट अर्को व्यवसायीले खरिद गर्दा, र उपभोक्ताबाट व्यवसायीले पुरानो सुन वा गरगहना किन्ने क्रममा पनि २ प्रतिशत विलासिता कर लाग्ने प्रावधान थियो।

तर अब यी सबै कारोबारहरूमा कर नलाग्ने व्यवस्था गरिएको छ। अब व्यवसायीले उपभोक्तालाई सुन वा गरगहना बिक्री गर्दा मात्र मूल्यको २ प्रतिशत विलासिता कर लाग्नेछ।

यसअघि सरकारले सुन तथा हिरामा लगाएको विलासिता करको विरोध तथा कर खारेजीको माग गर्दै व्यवसायीहरू आन्दोलनमा उत्रिएका थिए ।

बजार बन्ददेखि विरोध प्रदर्शनसम्म गरेका व्यवसायीहरूको मागपछि, अर्थ मन्त्रालयले सहसचिव उत्तरकुमार खत्रीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो।

सोहि कार्यदलको सिफारिसका आधारमा अन्ततः सरकारले एक तहमा मात्र कर लगाउने निर्णय गरेको हो।


प्रतिक्रिया दिनुहोस्