लघुवित्तले अब २५ प्रतिशतसम्म लाभांश दिन सक्ने
काठमाडौं । अब लघुवित्त कम्पनीहरुले २५ प्रतिशत लाभांश बाँड्न सक्ने भएका छन् ।
नेपाल राष्ट्र बैंकले लघुवित्तहरूको लाभांश नीतिमा महत्वपूर्ण परिमार्जन गर्दै अब अधिकतम २५ प्रतिशतसम्म लाभांश वितरण गर्न अनुमति दिएको छ । यसअघि लाभांश वितरणमा १५ प्रतिशतको सीमा तोकिएको थियो ।
राष्ट्र बैंकले आइतबार जारी गरेको नयाँ निर्देशन अनुसार, लघुवित्तहरूले पुँजीकोष अनुपात र निष्क्रिय कर्जा (एनपिएल) को आधारमा फरक–फरक दरमा लाभांश वितरण गर्न सक्ने भएका छन् ।
नयाँ नीति अनुसार पुँजीकोष अनुपात १२ प्रतिशतभन्दा माथि र निष्क्रिय कर्जा ५ प्रतिशतभन्दा कम भएका लघुवित्तले २५ प्रतिशतसम्म लाभांश बाँड्न पाउनेछन् ।
निष्क्रिय कर्जा १० देखि १५ प्रतिशत भएका संस्थाले १५ प्रतिशत लाभांश वितरण गर्न पाउने व्यवस्था गरिएको छ । त्यस्तै, पुँजीकोष अनुपात १० देखि १२ प्रतिशत भएका संस्थाहरूले निष्क्रिय कर्जाको आधारमा १० देखि २० प्रतिशत लाभांश पाउनेछन् ।
पुँजीकोष अनुपात ८ देखि १० प्रतिशत भएका संस्थाले भने ५ देखि १५ प्रतिशत लाभांश वितरण गर्न सक्नेछन् । तर, निष्क्रिय कर्जा १५ प्रतिशत भन्दा माथि पुगेका लघुवित्त संस्थाहरूले लाभांश वितरण गर्न नपाउने व्यवस्था कडाइका साथ कायम गरिएको छ ।
यस्तै, नगद लाभांश वितरण गर्न लघुवित्तले कम्तीमा ९ प्रतिशत पुँजीकोष कायम गर्नुपर्नेछ । न्यूनतम चुक्ता पुँजी नपुगेका संस्थाहरूले भने केवल बोनस सेयर मार्फत लाभांश वितरण गर्न पाउनेछन् । तर, कर प्रयोजनका लागि नगद लाभांश दिन सकिने व्यवस्था रहेको छ ।
अघिल्लो नीति अनुसार १५ प्रतिशत भन्दा बढी लाभांश प्रस्ताव गर्दा संस्थाले लाभांश रकमको आधा हिस्सा साधारण जगेडा कोषमा, ३५ प्रतिशत हिस्सा ग्राहक संरक्षण कोषमा र १० प्रतिशत हिस्सा संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्ने बाध्यता थियो । नयाँ निर्देशिकाले यस्ता सबै अतिरिक्त रकम छुट्याउने प्रावधानलाई हटाएको छ ।













