‘नाडा अटो शो’मा पनि बीवाइडीको तहल्का : टाटा, नामी र दिपल बने प्रतिस्पर्धी, कुन ब्रान्डको कति बुकिङ्ग ?
काठमाडौं । सवारी साधनको सौन्दर्य र प्रविधिको उत्सव अर्थात् यो वर्षको ‘नाडा अट शो–२०२५’ भव्य रुपमा आइतबार सम्पन्न भएको छ ।
राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी हाल लगातर ६ दिनसम्म चलेको १७औँ संस्करणको ‘नाडा अटो शो–२०२५’ दर्शकको उपस्थिति र सवारी बुकिङ्गले रेकर्ड कायम गरेको छ ।
अटोमोबाइल्स एसोसिएसन अफ नाडाले गत भदौ ३ गतेदेखि आयोजना गरेको अटो मेलाले गाडीप्रेमीहरूलाई नयाँ मोडेलको अनुभव दिने मात्र नभई अटोमोबाइल उद्योगलाई नै नयाँ उचाइमा पुर्याउने संकेत समेत दिएको छ ।
चिटिक्क परेका डिजाइन, आधुनिक प्रविधि र वातावरणमैत्री सवारीहरूसहित देशभरका उपभोक्ता र व्यवसायीको आकर्षणको केन्द्र बनेको यो शोमा १ लाख ६० हजारभन्दा बढी दर्शकले प्रत्यक्ष अवलोकन गरेका छन् ।
यसपटकको शोमा १३५ स्टलहरू राखिएका थिए, जहाँ ३० वटा नयाँ सवारी मोडेलहरू पहिलोपटक सार्वजनिक रूपमा प्रदर्शन राखिएको थियो । यी मोडेलहरुले उपभोक्तालाई नयाँ प्रविधिको झलक मात्र दिएनन्, भविष्यमा बजारमा आउने ट्रेन्डबारे पनि स्पष्ट संकेत गरेका छन् ।
नाडा अटो शोमा सहभागी व्यवसायीहरूका अनुसार यस वर्षको सहभागिता, बुकिङ र जनचासोले अघिल्ला वर्षको तुलनामा राम्रो नतिजा दिएको छ । विशेषगरी इलेक्ट्रिक सवारीप्रतिको उत्साहले आगामी दिनमा वातावरणमैत्री गाडीहरूको बजार विस्तार उनीहरुको भनाई छ ।
नाडा अटो शोमा कुन ब्रान्डको कति सवारी बुकिङ ?
अटो शोमा ब्रान्डहरूबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । नाडाका अनुसार अटो शोमा ४ हजार भन्दा बढी सवारीसाधन बुकिङ भएका छन् । यसपालीको अटो शोमा दर्शकको उपस्थिति र सवारी बुकिङ्गको आँकडाले कीर्तिमान कायम गरेको नाडाको दावी छ । गत वर्षको अटो शोमा ३ हजार ८०० युनिट गाडी बुकिङ्ग भएका थिए ।
यो वर्ष पनि विद्युतीय सवारीतर्फको आकर्षण झनै बढेको छ । नेपालमा बिवाइडीका गाडी सर्वाधिक बुकिङ्ग भएका छन् । आधिकारिक वितरक साइमेक्स इन्कका अनुसार १ हजार ४०० युनिट गाडी बुकिङ भएका छन् । योसँगै बीवाइडीले आफूलाई नाडा अटो शोमा पनि नम्बर वानमै कायम राख्न सफल भएको छ ।
टाटाको ८०० युनिट, नामि ८१२ युनिट, डिपल ६०७ युनिट बुकिङ्ग भएका छन् । बुकिङ्गका आधारमा टाटा, नामी र दिपल प्रतिस्पर्धी ब्रान्ड भएका छन् ।
यस्तै, जिली ग्यालेक्सी १८७ युनिट, सेरेसका १०३ युनिट, जिनपेङ (नयाँ ब्रान्ड) १०२ युनिट र सिजी एक्सपेङ ७० युनिट बुकिङ्ग भएको नाडाले जनाएको छ ।
अटो शोमा दुईपांग्रे सवारीतर्फ पनि उत्साहजनक बुकिङ भएको छ । चारपांग्रे सवारीसँगै दुईपांग्रे सेग्मेन्टमा पनि उपभोक्ताको चासो घटेको छैन ।
नाडाका अनुसार अटो शोमा दुई पांग्रे तर्फ रोयल इनफिल्डको नै सर्वाधिक बुकिङ्ग भएको छ ।
नाडाका अनुसार रोयल इनफिल्डका १६० युनिट सवारी बुकिङ भएको छ । यस्तै, हिरो मोटोकर्प ६० युनिट बुकिङ भएका छन् ।













