कित्ताकाट रोकिँदा ‘घरजग्गा बजार’ ठप्प, कारोबार र राजश्व दुवै ओरालो - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

कित्ताकाट रोकिँदा ‘घरजग्गा बजार’ ठप्प, कारोबार र राजश्व दुवै ओरालो



काठमाडौं । घरजग्गा कारोबारमा भारी गिरावट आएको छ । एकै महिनामा कारोबार झन्डै आधा घटेको देखिन्छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागले हालै उपलब्ध गराएको चालु आर्थिक वर्षको पहिलो महिना अर्थात् साउनको तथ्याङ्कले यस्तो देखाएको हो ।

गत साउनमा देशभर ३१ हजार ६२१ वटा मात्रै घरजग्गा किनबेच भएका छन् । यो गत असारको तुलनामा ४३.०५ प्रतिशत कमी हो । गत असारमा देशभर ५५ हजार ५२४ वटा घरजग्गा किनबेच भएका थिए ।

कित्ताकाट रोकिएकाले नै कारोबार प्रभावित भएको विभागले जनाएको छ । अहिले स्थानीय तहले जग्गा वर्गीकरण गरेका छैन, त्यसले कित्ताकाट रोकिएको छ । यसले समग्रमा घरजग्गा कारोबार नै कमी आएको विभागले जनाएको छ ।

गत वर्षको साउनमा पनि देशभर ४३ हजार ८३५ वटा घरजग्गाको लिखत पारित भएको थियो । विभागका अनुसार साउनमा ३ हजार २८५ वटा नामसारी भएको छन् । यस्तै, ६ हजार ३८ वटा संशोधन गरिएको विभागले जनाएको छ भने २ हजार ५३९ हाल साविक छ । विभागका अनुसार २५ हजार ४२६ वटा जग्गा रोक्का र २६ हजार ४६२ वटा फुकुवा गरिएको छ । साउनमा १९ वटा मात्रै अपार्टमेन्ट किनेबच भएको छ ।

साउनमा देशभरका १३५ वटा मालपोत कार्यालय मार्फत घरजग्गा किनबेच भएको देखिन्छ । तर, मालपोत कार्यालय मकवानपुर, सिर्दिवास र सुर्खेतमा शून्य कारोबार भएको छ ।

साउनमा सबैभन्दा धेरै भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरी मार्फत १ हजार ७०० वटा घरजग्गा किनबेच भएको छ । यस्तै, भद्रपुर झापामा १ हजार १७८, जनकपुरधाममा १ हजार १५७, बेलवारी मोरङमा १ हजार १३७, राजविराज सप्तरीमा १ हजार १३२ वटा घरजग्गा किनबेच भएका छन् ।

यता, मालपोत कार्यलय भक्तपुर मार्फत पनि साउयनमा ८२९ वटा, सिराहामा ६६९, सलार्हीमा ७४४, लाहान सिराह ६८१, जलेश्वर महोत्तरीमा ६७०, दमक झापामा ६६६, तुलसीपुर दाङमा ६३१, लगनखेल ललितपुरमा ६१६, कलैया बारामा ५७८, घोराही दाङमा ५६८, विराटनगर मोरङमा ५६१, कोहलपुरमा ५५३, नेपालगञ्ज बाँकेमा ५४३, रुपन्देहीमा ५३९, पर्सामा ५३५, गौर रौतहटमा ५२२, वर्दघाट सुस्ता पश्चिम परासीमा ५२१ वटा घरजग्गा किनबेच भएको विभागले जनाएको छ ।

कारोबारसँगै राजश्व पनि आधा घटेको छ । साउनमा ३ अर्ब २८ करोड ९१ लाख ३८ हजार रुपैयाँ राजश्व संकलन भएको छ । यो अत असारमको तुलनामा ४९.७९ प्रतिशत कमी हो । गत असारमा ६ अर्ब ५५ करोड १७ लाख १२ हजार रुपैयाँ बराबरको राजश्व संकलन भएको थियो ।

राजश्वमा भने काठमाडौं उपत्यका भित्रका मालपोत कार्यालयहरु अगाडि छन् । यी क्षेत्रमा महँगो मूल्यमा घरजग्गा किनबेच हुने भएकाले राजश्व पनि बढी उठ्ने गरेको छ ।

विभागका अनुसार साउनमा सबैभन्दा धेरै राजश्व मालपोत कार्यालय लगनखेल ललितपुरबाट मात्रै ४३ करोड ४ लाख ९५ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।

यस्तै, काठमाडौंको डिल्लीबजारबाट २६ करोड २ लाख २२ हजार, भक्तपुरबाट २३ करोड ६८ लाख ८२ हजार, कलंकीबाट २१ करोड ३१ लाख ४१ हजार, चावहिल काठमाडौंबाट १७ करोड ६९ लाख ५३ हजार, कास्की पोखराबाट ११ करोड ८३ लाख ४५ हजार र इनरुवा सुनसरीबाट १० करोड ११ लाख ३६ हजार रुपैयाँ राजश्व उठेको विभागले जनाएको छ । यी बाहेकका अन्य मालपोत कार्यालय मार्फत साउनमा १० करोड रुपैयाँभन्दा कम राजश्व संकलन भएका छन् ।


प्रतिक्रिया दिनुहोस्