बैंकिङ प्रतिस्पर्धा : व्यवसायमा ग्लोबल र नबिलको टक्कर, ग्रोथमा एभरेष्ट, एनएमबि र प्राइम तगडा
काठमाडौं । बैंकहरु व्यवसाय विस्तारमा तीव्र जोड दिएका छन् । निकै लामो समयदेखि सुस्ताएको आर्थिक गतिविधि विस्तारै गतिशिल बन्दैछ । केही समय अघिसम्म बैंकहरुमा निक्षेप भित्रने सिलसिला बढ्दो देखिए पनि कर्जा प्रवाह भने सुस्त थियो ।
तर, अहिले बैंकहरुको निक्षेप संकलन र कर्जा प्रवाह दुवै बढेको छ । पछिल्लो वर्षको अवधिमा नै बैंकहरुको निक्षेप संकलन दोहोरो अंकमा वृद्धि भएको छ । एकै वर्ष वाणिज्य बैंकमा थप ७ खर्ब ७७ अर्ब ९६ करोड बढी निक्षेप थपिएको छ ।
बैंकहरुले प्रकाशन गरेको गत आर्थिक वर्ष २०८१–८२ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । अघिल्लो वर्षमा बैंकहरुसँग कुल ५६ खर्ब ६५ अर्ब ५७ करोड ४ लाख रुपैयाँ निक्षेप रहेको थियो । तर, गत वर्ष आइपुग्दा भने १३.७३ प्रतिशत बढेर ६४ खर्ब ४३ अर्ब ७१ करोड ९१ लाख रुपैयाँ कायम भएको छ ।
एनआइसी एशिया बाहेकका सबै बैंकहरुको निक्षेप संकलन बढेको छ । बैंकहरुले साढे २८ प्रतिशतसम्म निक्षेप बढाएका छन् ।
निक्षेपको मामलामा मुख्य तीन बैंक शीर्ष सूचीमा छन् । सबैभन्दा धेरै निक्षेप ग्लोबल आइएमई बैंकको देखिएको छ । बैंकको कुल निक्षेप ५ खर्ब ५० अर्ब ६२ करोड ८४ लाख रुपैयाँ कायम भएको छ । यो अघिल्लो वर्षको तुलनामा १२.९६ प्रतिशत धेरै हो । अघिल्लो वर्ष बैंकसँग ४ खर्ब ८७ अर्ब ४५ करोड ५८ लाख रुपैयाँ निक्षेप थियो ।
गत वर्ष सर्वाधिक नाफा कमाएको नबिल बैंक भने दोस्रो पोजिशनमा छ । बैंकको निक्षेपको आकार एकै वर्ष १३.५३ प्रतिशत बढेर ५ खर्ब २४ अर्ब ६२ करोड ५९ लाख रुपैयाँ पुगको छ । जबकि, अघिल्लो वर्षमा बैंकसाग ४ खर्ब ६२ अर्ब ९ करोड ७४ लाख रुपैयाँ रहेको थियो ।
तेस्रो स्थानम रहेको राष्ट्रिय वाणिज्य बैंकको निक्षेप पनि १६.६० प्रतिशत बढेर ५ खर्ब ४१ करोड ४६ लाख रुपैयाँ पुगेको छ । ५ खर्ब बढी निक्षेप हुनेमा हाल ग्लोबल, नबिल र राष्ट्रिय वाणिज्य बैंक मात्र छन् ।
चौंथो सूचीमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको निक्षेप पनि १७.०९ प्रतिशत बढेर ४ खर्ब ७२ अर्ब ३४ करोड ७४ लाख रुपैयाँ कायम भएको छ ।
विवरणअनुसार गत वर्ष कुमारी बैंकको निक्षेपको आकार ३ खर्ब ६४ अर्ब ६३ करोड, लक्ष्मी सनराइजको ३ खर्ब ६७ अर्ब ५ करोड, प्रभूको ३ खर्ब ४२ अर्ब १८ करोड, नेपाल बैंकको ३ खर्ब ३२ अर्ब २ करोड, हिमालयनको ३ खर्ब ९ अर्ब १५ करोड र एनआइसी एशियाको ३ खर्ब १९ अर्ब ६ करोड रुपैयाँ कायम भएको छ । यद्यपि, एनआइसी एशियाको निक्षेप अघिल्लो वर्षको तुलनामा ९.८९ प्रतिशत कमी हो ।
निक्षेप भित्र्याउने मामलामा भने एभरेष्ट बैंक तगडा देखिएको छ । बैंकको निक्षेपको आकार एकै वर्ष २८.६३ प्रतिशत बढेर २ खर्ब ९८ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । जबकि, अघिल्लो बैंकसँग २ खर्ब ३२ अर्ब ३१ करोड ६६ लाख रुपैयाँ रहेको थियो ।
यस्तै, एनएमबि बैंकको निक्षेप पनि २५.४५ प्रतिशत, प्राइमको २४.७२ प्रतिशत, कृषि विकासको २०.५० प्रतिशत, सिद्धार्थको १६.६० प्रतिशत, माछापुच्छ्रेको १६.०९ प्रतिशत, नेपाल एसबिआईको १३.७२ प्रतिशत, सानिमाको १३.५७ प्रतिशत, सिटिजनको ११.७७ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्डको ११.४३ प्रतिशत वृद्धि भएको छ ।
कुन बैंकको निक्षेप संकलन कति ? (रकम हजारमा)

८ प्रतिशत बढ्यो कर्जा प्रवाह, ग्लोबल र नबिल नै शीर्ष सूचीमा
गत वर्ष बैंकहरुको कर्जा लगानी पनि ८.०९ प्रतिशत वृद्धि भएको छ । अघिल्लो वर्षसम्म आइपुग्दा बैंकहरुले ४४ खर्ब ९१ अर्ब ८५ करोड रुपैयाँ कर्जा लगानी गरेका थिए । तर, गत वर्षसम्म भने बैंकको कर्जा विस्तार ३ खर्ब ६३ अर्ब ५२ करोड ७४ लाख रुपैयाँ बढेको छ । बैंकहरुले कुल कर्जा प्रवाह ४८ खर्ब ५५ अर्ब ३८ करोड २४ लाख रुपैयाँ कायम भएको छ ।
अधिकांश बैंकहरुको कर्जा लगानी वृद्धि भए पनि एनआइसी एशिया, कुमारी, स्ट्याण्डर्ड चार्टर्डको भने घटेको देखिन्छ ।
कर्जा प्रवाह पनि ग्लोबल आइएमई बैंक पहिलो सूचीमा छ। बैंकको कर्जा लगानी ११.५९ प्रतिशत बढेर ४ खर्ब २७ अर्ब ५८ करोड ७० लाख रुपैयाँ कायम भएको छ ।
दोस्रो सूचीमा रहेको नबिल बैंकको कर्जा प्रवाह पनि १०.७० प्रतिशत बढेर ४ खर्ब २६ अर्ब ९९ करोड रुपैयाँ नाघेको छ । कुल प्रवाहित कर्जाको आकार ग्लोबल र नबिलको लगभग बराबरी जस्तै देखिन्छ ।
तेस्रो सूचीम रहेको एनआइएमकिो पनि ७.७३ प्रतिशत बढेर ३ खर्ब ४२ अर्ब २८ करोड रुपैयाँ कायम भएको छ । यता, राष्ट्रिय वाणिज्यको पनि १८.१८ प्रतिशत बढेर ३ खर्ब ४ अर्ब ३७ करोड नाघेको छ ।
कर्जा प्रवाह बढाउने मामला पनि एभरेष्ट बैंक पहिलो स्थानमा छ । बैंकको कर्जा प्रवाह २०.१९ प्रतिशत बढेर २ खर्ब २३ अर्ब ३९ करोड पुगेको छ ।
यस्तै, एनएमबिको पनि १८.३८ प्रतिशत बढेर २ खर्ब ३९ अर्ब ६३ करोड पुगेको छ । प्राइमको १५.४७ प्रतिशत, नेपाल बैंकको १३.४९ प्रतिशत, माछापुच्छ्रेको ११.८२ प्रतिशत, सानिमाको ११.२२ प्रतिशत, लक्ष्मी सनराइजको १०.९१ प्रतिशत, सिद्धार्थको १०.६३ प्रतिशत बढेको छ।
तर, एनआइसी एशियाको १७.०७ प्रतिशत, कुमारीको १.४६ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्डको १.०९ प्रतिशत घटेको छ ।
कुन बैंकको कर्जा प्रवाह कति ? (रकम हजारमा)














