७ श्रावण २०८३, बिहिबार

एउटा सरकारी बैंकले निष्क्रीय कर्जा नियन्त्रणमा कसरी काम गरिरहेको छ?



काठमाडौँ। कुनैबेला सबै वाणिज्य बैंकहरूको तुलनामा असाध्यै धेरै निष्क्रीय कर्जा बोकेर बसेको थियो- कृषि विकास बैंक।

तर अहिले त्यही संस्थाले उल्लेखनीय रूपमा निष्क्रिय कर्दा नियन्त्रण गर्नमा सफलता प्राप्त गरेको छ।

ज्यादातर खुद्रा अर्थात् सानो रकमको कर्जा प्रवाह गरेको उक्त बैंक अहिलेको जटिल परिस्थितिमा पनि निष्क्रिय कर्जाको दरलाई न्यून स्तरमा राख्न सफल भएको छ।

जबकि, यस्तै खुद्रा बैंकिङमा चासो देखाएका अरु संस्थाहरू अहिले भयङ्कर अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेका छन्।

सरकारी स्वामित्वको कृषि विकास बैंकले यस प्रकारको उपलब्धि यत्तिकै हासिल गरेको चाहिँ होइन। यसका लागि बैंकले थुप्रै आन्तरिक एवं संगठनात्मक तयारी र प्रणालीको विकास गरेको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) गोविन्द गुरुङका अनुसार विगत केही वर्षमा उक्त बैंकले आफ्नो कर्जाको गुणस्तर सुधार गर्न थुप्रै काम गरेको छ।

बैंकले ‘रियल टाइम क्रेडिट इन्फर्मेसन सिस्टम’ जडान गरेको छ। यो प्रणालीले हरेक दिन बैंकका सबै शाखाहरूको कर्जाको विवरण, त्यसको गुणस्तर र वर्गीकरण लगायतका विषय रिपोर्टिङ गर्छ।

त्यस्तै कर्जा असुली सम्बन्धी विवरणहरू पनि हरेक दिन अध्यावधिक गरी ऋण उठाउन गरिएको सामूहिक मेहनतले बैंकको वित्तीय विवरण आकर्षक बनाउन ठूलो मद्दत पुगेको सीइओ गुरुङ बताउँछन्।

‘विगतमा व्यक्तिले भनेर कन्ट्रोल गर्नुपर्ने अवस्था थियो, अब त्यसलाई सिस्टमले नै कन्ट्रोल गर्ने व्यवस्था गरिएको छ’, उनले भने, ‘कर्जा असुली व्यवस्थापनलाई पनि यही प्रणालीले व्यवस्थित बनाएको छ।’

गत असार मसान्तमा २ खर्ब २४ अर्ब ऋण प्रवाह भएको, त्यस मध्ये ७ अर्ब ४ करोड निष्क्रिय कर्जा रहेको गुरुङले जानकारी दिए। तर अहिले बैंकसँग भएको प्रणालीले हरेक दिनको निस्क्रिय कर्जा गणना गर्न सक्छ।

‘हामी हरेक दिन असार मसान्तकै स्थितिमा बस्नको लागि कसरी काम गर्न सक्छौं भनेर लागिरहेका छौं’, उनले थपे।

कृषि विकास बैंकले गत आर्थिक वर्षमा २ अर्ब ४५ करोड रुपैयाँ प्रोभिजनमा राख्नु परेको थियो।

यसरी गत साल नै ठूलो रकम प्रोभिजनमा थुपारेपछि यसपल्ट भने बैंकले जम्मा १० करोड रुपैयाँ हाराहारी मात्रै थप प्रोभिजन राख्नुपरेको छ।

प्रोभिजनमा छुट्याउनुपर्ने रकम उल्लेख्य रूपमा घटेपछि यो वर्ष बैंकको नाफा ५ अर्ब ८५ करोड पुगेको हो। यसको मतलब कर्ताको गुणस्तरमा व्यापक सुधार गर्दा बैंकको नाफामा उल्लेख्य वृद्धि भएको सिइओ गुरुङ बताउँछन्।

गत साल बैंकको उठ्न बाँकी ब्याज ३ अर्ब ८४ करोड भएकोमा यो वर्ष ३ अर्ब ३६ करोड रुपैयाँ मात्रै छ। व्यवसाय बढ्दा पनि उठ्न बाँकी ब्याजको रकम घट्नुले बैंकको पुरानो र नयाँ दुवै किसिमका ब्याज उठेको देखिन्छ।

गुरुङका अनुसार कर्जाको गुणस्तर सुधारमा गरिएको अथक मेहनतका साथै कतिपय संरचनागत सुधार र व्यवसायको विविधिकरणले पनि बैंकको वित्तीय विवरणलाई आकर्षक तुल्याएको छ।

बैंकले पछिल्लो समय मानव संसाधन विकासमा थुप्रै काम गरेको उनले बताए। त्यस्तै प्रणालीहरूको विकास गर्ने, नियमित अनुगमन र मूल्याङ्कन गर्ने, ऋणपत्र र प्रतितपत्र (एलसी) लगायतमा व्यवसायको विविधिकरण गर्ने जस्ता कामले बैंकको नाफा बढाउन सहयोग गरेको उनले बताए।

यसरी व्यवसाय वृद्धि र विविधिकरणमा ध्यान दिन सकियो, कर्जाको गुणस्तर नियमित गर्नमा चनाखो हुन सकियो भने बैंकको वित्तीय स्वास्थ्य छोटो समयमै उल्लेख्य रूपमा सुधार गर्न सकिन्छ भन्ने उदाहरण आफ्नो बैंकले प्रस्तुत गरेको सिईयो गुरुङ बताउँछन्।

कृषि विकास बैंकले दुई खर्ब २४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको भए पनि राष्ट्र बैंकको नियमअनुसार निर्देशित क्षेत्रको कर्जामध्ये ८ अर्ब रुपैयाँ स्ट्यान्डर्ड चार्टर्डलाई बेचेको थियो। यसपछि बैंकको बाँकी कर्जा कर्जा २ अर्ब १६ करोड रुपैयाँ देखिन्छ।

बैंकले अघिल्लो साल १३ प्रतिशत र यो वर्ष साढे ८ प्रतिशतले कर्जा विस्तार गरेको जनाएको छ। पोहोर सालको असार मसान्तमा दुई खर्ब ६ अर्ब ६८ करोड ऋण रहेको बैंकले गत असार मसान्तसम्म आउँदा कुल २ खर्ब २४ अर्ब २ करोड रुपैयाँ र्जा पुर्‍याएको छ।

विगतमा कर्मचारी संख्या धेरै भएको, तर त्यसको उचित प्रयोग नभएको भनेर सरकारी स्वामित्वका बैंकहरूको आलोचना हुने गरेको थियो। तर अब कृषि विकासले जनशक्ति व्यवस्थापनको उचित प्रबन्ध गरेर लाभ लिएको दाबी अघि सारेको छ।

यसले कुनै पनि संस्थामा योग्य नेतृत्व आयो भने कसरी संस्थाहरूको आर्थिक हालत रातारात सुध्रन सक्छ भन्ने गजबको उदाहरण प्रस्तुत गरेको छ।


प्रतिक्रिया दिनुहोस्