अर्थतन्त्रका बाह्य सूचक सकारात्मक: चालु खाता साढे ९४ अर्ब र शोधनान्तर स्थिति ९० अर्बले बचतमा
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा सरकारकाे चालु खाता साढे ९४ अर्ब बढीले बचतमा रहेको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको जेठ मसान्तसम्मको वित्तिय विवरण अनुसार चालु खाता ९४ अर्ब ५९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.७८ अर्ब २९ करोडले बचतमा रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ५६ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ६२ करोडले बचतमा रहेको छ ।
समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर रु.६३ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर रु.१ अर्ब ४ करोड रहेको थियो ।
यसैगरी, समीक्षा अवधिमा रु.१ अर्ब १ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) रु.६९ करोड रहेको थियो ।
यस्तै साउनमा शोधनान्तर स्थिति ९० अर्ब ३४ करोड रूपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ८९ अर्ब ३० करोड रूपैयाँले बचतमा रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ६४ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ५९ करोडले बचतमा रहेको छ ।














