चम्कियो घरजग्गा क्षेत्र, बैंकिङ लगानीले बढायो आशा - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

चम्कियो घरजग्गा क्षेत्र, बैंकिङ लगानीले बढायो आशा



काठमाडौं । केही वर्षदेखि सुस्ताइरहेको घरजग्गा बजार फेरि चलायमान बन्दै गएको छ । घरजग्गा क्षेत्र फेरि सक्रियता तर्फ उन्मुख भएको देखिन्छ ।

नेपाल राष्ट्र बैंक उपब्ध गराएको रियल स्टेट क्षेत्रका विभिन्न शीर्षकमा वृद्धि भएको कर्जा प्रवाहको आँकडाले यस्तो देखाउँछ ।

सस्तो ब्याजदर, प्रशस्त तरलता र पुन: विश्वास हासिल गर्न थालेको रियल स्टेट बजारमा बैंक तथा वित्तीय संस्थाहरू पुन: लगानी बढाउन आक्रामक रुपमा लागिपरेका छन । व्यक्तिगत आवास निर्माणदेखि व्यावसायिक कम्प्लेक्स, जग्गा खरिद, प्लटिङ लगायतका क्षेत्रमा कर्जा प्रवाह तीव्र बनेको छ ।

अहिले सर्वसाधारणदेखि व्यवसायीहरु घरजग्गा क्षेत्रलाई पुन: सुरक्षित लगानीको गन्तव्यका रूपमा हेर्न थालेको देखिन्छ । राजधानी काठमाडौं लगायतका शहरी क्षेत्रहरूमा पुन: घरजग्गा कारोबार विस्तारै चलायमान हुँदै गर्दा समग्र आर्थिक गतिविधिलाई समेत ऊर्जा प्रदान गर्ने देखिन्छ ।

बैंक तथा वित्तीय संस्थाहरुले केही समयदेखि सुस्त रहेको घरजग्गा कारोबारलाई चलायमान बनाउन सक्रिय बनेका छन् । उनीहरुले यस क्षेत्रमा ऋण लगानी बढाउन थालेका हुन् ।

राष्ट्र बैंकका अनुसार एक वर्षमा बैंक वित्तीय संस्थाहरुबाट प्रवाह हुने व्यक्तिगत घर कर्जा (१ करोड ५० लाख रुपैयाँसम्मको सीमा) ८ प्रतिशत वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो सीमामा बैंकहरुले ३ खर्ब ८७ अर्ब १ करोड ६१ लाख रुपैयाँ कर्जा लगानी गरेका थिए । तर, गत वर्ष आइपुग्दा भने ७.९ प्रतिशत वृद्धि भई ४ खर्ब १७ अर्ब ५६ करोड ५७ लाख रुपैयाँ पुगेको छ । एक वर्षमा बैंक तथा वित्तीय संस्थाहरुले थप ३० अर्ब ५४ करोड ९६ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

यता, रियल स्टेट तर्फका कर्जा पनि झन्डै ३ प्रतिशत वृद्धि भएको छ । बैंक तथा वित्तीय संस्थाहरुले गत वर्षसम्म यस क्षेत्रमा कुल २ खर्ब ७५ अर्ब ९५ करोड ९५ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो अघिल्लो वर्षसम्मको तुलनामा २.९२ प्रतिशत बढी हो । अघिल्लो वर्षसम्म यस्तो शीर्षक कुल २ खर्ब ६८ अर्ब १२ करोड ८९ लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो । एक वर्षमा बैंक तथा वित्तीय संस्थाहरुले थप ७ अर्ब ८३ करोड ६ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

गत वर्ष घरजग्गा कारोबारले पनि सकरात्मक संकेत गरेको छ । अघिल्ला वर्षहरुको तुलनामा कारोबार वृद्धि भइरहेको छ । पछिल्लो समय बैंक ब्याजदर पनि न्युन स्तरमा आइपुगेको छ भने बैंकिङ्ग प्रणालीमा पनि अधिक तरलता कायमै छ । यस्तो अवस्थामा बैंक तथा वित्तीय संस्थाबाट सस्तो ब्याजमा ऋण लिएर घरजग्गा क्षेत्रमा लगानी गरिरहेको देखिन्छ । अघिल्ला वर्षहरुमा आर्थिक शिथिलता कायमै रहेकाले घरजग्गा कारोबार र यस क्षेत्रमा प्रवाह हुने कर्जा करिब करिब ठप्पै थियो । हाल यस्तो परिस्थिति बदलिँदो छ । कारोबार र लगानी विस्तारै बढ्न थालेको देखिन्छ ।

अन्य शीर्षकको आवासीय घर कर्जा (१ करोड ५० लाखको सीमा बाहेक) भने ५.३६ प्रतिशत घटेको छ । अघिल्लो वर्षसम्म यस्तो कर्जा ७२ अर्ब ५७ करोड २५ लाख रुपैयाँ प्रवाह गरेका थिए । तर, गत वर्ष भने ३ अर्ब ८८ करोड ९९ लाख रुपैयाँ घटेर ६८ अर्ब ६८ करोड २६ लाख रुपैयाँ कायम भएको छ ।

राष्ट्र बैंकका अनुसार आय सृजना गर्ने व्यावसायिक कम्प्लेक्समा जाने कर्जा भने उल्लेख्य वृद्धि भएको देखिन्छ । यस्तो कर्जा २७.४८ प्रतिशत वृद्धि भई १२ अर्ब २ करोड ५० लाख रुपैयाँ पुगेको छ। जबकि, अघिल्लो वर्षसम्म यस्तो शीर्षकको कर्जा ९ अर्ब ४३ करोड २७ लाख रुपैयाँ मात्रै थियो । एक वर्षको अवधिमा बैंक तथा वित्तीय संस्थाले थप २ अर्ब ५९ करोड २४ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

यस्तै, घडेरी खरिद तथा प्लटिङ समावेश नभएको अन्य शीर्षकको रियल स्टेट कर्जा पनि ५.८६ प्रतिशत वृद्धि भई १ खर्ब ६१ अर्ब ८० करोड ८५ लाख रुपैयाँ कायम भएको छ । जबकि, यस्तो शीर्षकमा अघिल्लो वर्ष १ खर्ब ५२ अर्ब ८५ करोड २५ लाख रुपैयाँ रुपैयाँ प्रवाह भएको थियो ।

राष्ट्र बैंकका अनुसार जग्गा खरिद तथा प्लटिङमा जाने कर्जा पनि ४.९८ प्रतिशत बढेर ६२ अर्ब ४१ करोड ५७ लाख कायम भएको छ । एक वर्षमा यस्तो शीर्षकको कर्जा २ अर्ब ९६ करोड १६ लाख रुपैयाँ प्रवाह गरेका छन् । अघिल्लो वर्षसम्म भने कुल ५९ अर्ब ४५ करोड ४१ लाख रुपैयाँ कायम भएको छ ।

रियल स्टेट टर्फको उद्देश्य नखुलाइ स्वीकृत ५० लाख वा सोभन्दा बढीको कर्जा पनि ७.१९ प्रतिशत बढेर ६६ अर्ब ८५ करोड ९६ लाख रुपैयाँ कायम भएको छ ।

यता, अन्य शीर्षकको रियल स्टेट कर्जा पनि ४.९ प्रतिशत बढेर ३२ अर्ब ५३ करोड ३२ लाख रुपैयाँ कायम भएको छ ।

आवासीय तथा व्यवसायिक कम्प्लेक्स अर्थात् अर्पाटमेन्ट निर्माणमा जाने कर्जा पनि ०.५७ प्रतिशत बढेर ३३ अर्ब ४४ करोड ३४ लाख रुपैयाँ कायम भएको छ । यस्तो शीर्षकमा बैंक तथा वित्तीय संस्थाहरुले थप २ अर्ब २४ कारेड २२ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जबकि, अघिल्लो वर्ष कुल ३३ अर्ब २७ करोड १२ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्