म्युचुअल फन्डको ‘ब्यालेन्स सिट’मा बदलाव : नाफा, न्याभ र लगानी घट्यो, कुनको अवस्था कस्तो ?
काठमाडौं । सेयर बजारमा आएको गिरावटले सामूहिक लगानी कोष अर्थात् म्युचुअल फन्डहरुको ‘ब्यालेन्स सिट’मा असर देखिएको छ ।
हाल सूचीकृत ४५ वटा फन्डहरुले प्रकाशन गरेको गत साउन महिनाको वित्तीय विवरणले यस्तो देखाएको हो । गत असारसम्मको तुलनामा फन्डहरुको नाफा, सेयर बजारमा लगानी र खुद इकाई सम्पत्ति (न्याभ) घटेको छ ।
साउनमा फन्डहरुको नाफा ९८.४७ प्रतिशत घटेर १० करोड ८७ लाख ७३ हजार रुपैयाँ कायम भएको छ । जबकि, गत असार मसान्तसम्ममा फन्डहरुको ७ अर्ब १० करोड २७ लाख ३९ हजार रुपैयाँ रहेको थियो ।
यता, सेयर बजारमा लगानी पनि साढे ४ प्रतिशत घटेको देखिन्छ भने न्याभ पनि औसत ०.३३ रुपैयाँ घटेको छ । विशेषगरि सेयर बजारमा आएको गिरावटले नै फन्डहरुको वित्तीय अवस्थामा घटबढ देखिएको हो । असारको तुलनामा बजार पनि घटेको छ । बजारसँगै फन्डको वित्तीय सूचकहरुमा पनि गिरावट आएको हो ।
२९ वटा फन्ड नाफामा, १६ वटाले व्यहोरे घाटा
साउनमा अधिकांश फन्डहरुको नाफा घटेको छ । सूचीकृतमध्ये २९ वटा फन्ड मात्रै नाफामा देखिएका छन् । तर, असारको तुलनामा भने ती सबै फन्डहरुको नाफा घटेको छ भने १६ वटा घाटामा देखिएका छन् ।
साउनमा धेरै नाफा कमाउनेमा सनराइज फोकस इक्विटी फन्ड छ । सो फन्डले ८ करोड रुपैयाँ नाफा कमाएको छ । यद्यपि, असार मसान्तसम्मको तुलनामा भने ६१.७७ प्रतिशत कमी हो ।
साउनमा लक्ष्मी भ्यालु फन्ड–५ को ५ करोड ९५ लाख, सनराइज फर्सट म्युचुअल फन्ड ४ करोड ९३ लाख, एनआइसी एशिया फ्लेक्सी क्याप ४ करोड ६२ लाख रुपैयाँ नाफामा छन् । सिटिजनस सुपर ३०, सानिमा ग्रोथ फन्ड, लक्ष्मी उन्नती, एमबिएल इक्विटी, एनआइसी एशिया ग्रोथ फन्ड लगायतका २९ वटाको नाफा धनात्मक छ ।
तर, एनआइबिएल समृद्धि फन्ड–२, मेगा म्युचुअल फन्ड १, एनआइबिल स्टेबल फन्ड, एनआइबिएल सहभागिता फन्ड, सानिमा लार्ज क्याप, प्रभू सलेक्ट फन्ड लगायतका १६ वटा फन्ड घाटामा देखिएका छन् ।

एकै महिना डेढ अर्ब घट्यो सेयर बजारमा लगानी
साउनमा महिनामा फन्डहरुले सेयर बजारमा गरिने लगानी पनि घटाएका छन् । सो अवधिमा फन्डहरुको लगाननी डेढ अर्ब घटेको देखिन्छ ।
असार मसान्तसम्म फन्डहरुले ४२ अर्ब ३९ करोड ४८ लाख रुपैयाँ लगानी गरेका थिए । तर, साउन अन्तसम्म आइपुग्दा भने ३.५८ प्रतिशत घटेर ४० अर्ब ८७ करोड ६० लाख रुपैयाँ कायम भएको छ ।
अधिकांश फन्डको लगानी घटेको छ, १८ वटाको मात्रै बढेको देखिन्छ । साउनमा सबैभन्दा धेरै लगानी गरिमा समृद्धि योजनाको बढेको देखिन्छ । सो फन्डको लगानीको आकार २४.४३ प्रतिशत बढेर १ अर्ब ७ करोड ७० लाख रुपैयाँ कायम भएको छ । यता, एनआइसी एशिया ब्यालेन्स्ड फन्डको पनि २०.९६ प्रतिशत बढेको छ ।
यस्तै, रिलायबल समृद्धि योजनाको लगानी पनि १७.८८ प्रतिशत, एनआइसी एशिया ग्रोथ फन्ड २ को १७.७९ प्रतिशत, एनआइसी एशिया फ्लेक्सी क्यापको १०.३६ प्रतिशत, नबिल फ्लेक्सी क्यापको १०.२८ प्रतिशत बढेको छ ।
तर, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ लगायतका दुई दर्जन बढीको फन्डको लगानी घटेको छ । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ को लगानी १९.४९ प्रतिशत घटेको छ । यता, सनराइज फर्सट म्युचुअल फन्डको पनि १८.९७ प्रतिशत घटेको छ ।
यस्तै, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को २१.७६ प्रतिशत, लक्ष्मी उन्नती कोषको १५.२८ प्रतिशत, लक्ष्मी भ्यालु फन्ड–२ को ११.८८ प्रतिशत, आरविवि म्युचुअल फन्डको १०.८३ प्रतिशत घटेको छ ।

न्याभ १० रुपैयाँ माथि पनि अधिकांशको घट्यो, कसको कति छ ?
साउनमा अधिकांशको न्याभ पनि घटेको देखिन्छ । असार अन्त्यसम्म औसत न्याभ ११.७३ रुपैयाँ रहेको थियो । तर, साउनमा सामान्य घटेर ११.४० रुपैयाँ कायम भएको छ ।
फन्डहरुको न्याभ १० रुपैयाँभन्दा माथि नै देखिएको छ ।
साउनमा प्रभू स्मार्ट फन्डको न्याभ १३.४२ रुपैयाँ, हिमालयन ८०–२० को १३.३४ रुपैयाँ, प्रभू सेलेक्ट फन्डको १३.३१, एनएमबि सुभल इन्भेष्टमेन्ट फन्ड दोस्रोको १३.२८ रुपैयाँछ ।
साउनमा एमबिएल इक्विटी, रिलायवल समृद्धि योजना, एनएमबि हाइब्रिड, सिटिजन म्युचुअल फन्ड दोस्रो लगातका फन्डको न्याभ बढेको छ ।
तर, सनराइज ब्लुचिप फन्ड, एनआइसी एशिया सेलेक्ट–३०, एनआइसी एशिया ब्यालेन्स्ड फन्ड, कुमारी सुनौलो लगानी योजना एनआइसी एशियाल फ्लेक्सी क्याप लगायतका फन्डहरुको न्याभ उच्च गिरावट आएको छ ।

















