एचएलआई लार्ज क्याप फण्डको इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम मौका
काठमाडाैं । हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडले भदौ १५ गतेदेखि बिक्री खुला गरेको आफ्नो पहिलो बन्दमुखी योजना एचएलआई लार्ज क्याप फण्डमा आवेदन दिन आज अन्तिम दिन रहेको छ ।
यो योजनाअन्तर्गत, प्रतिइकाई १० रुपैयाँ अंकित दरमा कुल ४० करोड इकाई, अर्थात ४ अर्ब रुपैयाँबराबरको इकाई निष्कासन गरिएको छ। यसमध्ये ५० प्रतिशत ९२० करोड इकाई० कोष प्रबर्द्धक हिमालयन लाइफ इन्स्योरेन्सका लागि सुरक्षित राखिएको छ भने बाँकी ५० प्रतिशत अर्थात २० करोड इकाई सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो।
सार्वजनिक निष्कासनमा सहभागिता जनाउन चाहने लगानीकर्ताले न्यूनतम १०० इकाई र अधिकतम ४ करोड इकाईसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
यो योजना हिमालयन लाइफ इन्स्योरेन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुनेछ, जसको अवधि इकाई बाँडफाँट भएको मितिले १० वर्ष रहनेछ।
बिक्री अवधि तथा नियामक निकायबाट तोकिएको थप अवधिभित्र कम्तीमा ५० प्रतिशत इकाई (२० करोड) को लागि आवेदन प्राप्त भएमा इकाई बाँडफाँट गरी योजना लागू हुनेछ।
तर न्यूनतम इकाईको माग नपुगेमा योजना स्वतः खारेज हुनेछ र १५ दिनभित्र आवेदनदातालाई रकम फिर्ता गर्ने प्रक्रिया सुरु गरिनेछ।
















